जनकपुरधाम ज्ञानभूमि, ऋषिमुनिहरूको तपोभूमि : आदित्यनाथ

पत्रपत्रिकाबाट

विहीबार, २७ मंसिर २०७५, ०७ : ३६
जनकपुरधाम ज्ञानभूमि, ऋषिमुनिहरूको तपोभूमि : आदित्यनाथ

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले धार्मिक, सांस्कृतिक र सामाजिक हिसाबले नेपाल र भारतको सम्बन्ध प्रगाढ बनाएको बताएका छन् । सीताराम विवाह महोत्सवमा जन्तीका रूपमा जनकपुर आएका योगीले स्थानीय रंगभूमि मैदानमा महोत्सव स्वयंवर कार्यक्रमलाई सम्बोधन गर्दै योगीले भने, ‘इतिहासमा जनकपुरधाम ज्ञानभूमि, ऋषिमुनिहरूको तपोभूमि हो, संसार नै अन्धकार भएका वेला यहाँबाट ज्ञानको प्रकाश छर्ने काम भयो, धेरै दर्शनहरू यहीँबाट लेखियो । यस्तो महत्वपूर्ण इतिहास बोकेको स्थलको दर्शन गर्न पाउँदा गौरवान्वित महसुस भइरहेको छ ।’ उनले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत भएर जनकपुरधाम आएकोसमेत बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सीताविना राम अधुरो
सीताविना रामको कल्पना गर्न नसकिने उल्लेख गर्दै मुख्यमन्त्री योगीले भने, ‘सनातन धर्ममा सीतारामको नामसँगै लिने गरिन्छ । र, वर्तमानमा जनकपुरधाम र अयोध्याबीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले नै दुवै देशका प्रधानमन्त्रीबाट जनकपुर–अयोध्या बसको सुरुवात भएको हो ।’ दुई मुलुकबीच भएको अयोध्या–जनकपुर तथा वाराणसी र काठमाडौं ‘सिस्टर सिटी’ सम्झौता कार्यान्वयनको प्रक्रियामा रहेको योगीले बताए । सिस्टर सिटीको माध्यमले दुवै मुलुकको पर्यटन उद्योगमा उल्लेखनीय सहयोग पुग्ने योगीको भनाइ छ ।

रामजानकीमार्ग निर्माणपछि आठ घन्टामा दिल्ली
अयोध्याको दूरी कम गर्न रामजानकीमार्ग लगायतका उत्तर प्रदेश सरकारले १ सय ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको मुख्यमन्त्री योगीले बताए । चारलेनको रामजानकीमार्ग निर्माणपछि जनकपुरबाट अयोध्या साढे चार घन्टा, लखनउ पाँच घन्टा र दिल्ली आठ घन्टामा पुगिने उनले बताए । नेपालको विकासमा उत्तर प्रदेशको साथ रहने प्रतिबद्धतासमेत उनले जनाए । उनले भने, ‘नेपाल र भारतबीचको खुला सिमानाभन्दा बढी उत्तर प्रदेश छ, प्रदेश सरकारलाई समर्थन र हरसम्भवले सहयोग गर्न उत्तर प्रदेश सरकार तयार छ ।’

विवाह महोत्सव आज सकिँदै
विवाह महोत्सव बिहीबार विधिवत रूपमा समापन हुँदै छ । महोत्सवको छैटौँ दिन बुधबार दिउँसो स्थानीय बाह्रबिघामा स्वयंवर भएको छ भने बुधबार राति नै राम र सीताको विवाह जानकी मन्दिरको प्रांगणमा सम्पन्न भएको छ । बिहीबार दिउँसो रामकलेवापश्चात् विवाह महोत्सव विधिवत रूपमा सम्पन्न हुने जानकी मन्दिरका छोटा महन्त रोशन दासले बताए ।

प्रतिक्रिया दिनुहोस