प्रचण्डलाई उम्मेदवार बन्न सात ठाँउबाट अफर, कहाँबाट लड्लान् चुनाव ?

सफल खबर संवाददाता

शुक्रबार, ११ पुस २०८२, ०८ : ५१
प्रचण्डलाई उम्मेदवार बन्न सात ठाँउबाट अफर, कहाँबाट लड्लान् चुनाव ?

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) लाई आगामी प्रतिनिधिसभा चुनाव लड्न देशका कतिपय निर्वाचन क्षेत्रबाट सिफारिस आउन थालेको छ । 

गत प्रतिनिधिसभा चुनावमा गोरखा २ बाट निर्वाचित प्रचण्ड त्यहाँबाट भने यसपटक सिफारिस भएका छैनन । प्रचण्डलाई अहिलेसम्म देशका ७ वटा निर्वाचन क्षेत्रबाट पहिलो नम्बरमा नाम राखेर निर्वाचन लड्न सिफारिस भएको छ । 

प्रचण्ड यस्ता नेता हुन्, जसले पहिलो संविधानसभा देखि अहिलेसम्म हरेक पटक निर्वाचन क्षेत्र परिवर्तन गदैं चुनाव जित्दै आईरहेका छन् । शीर्ष नेताहरु एकै स्थानमा चुनाव लडिरहेका बेला प्रचण्डले भने हरेक चुनावमा निर्वाचन क्षेत्र परिवर्तन गदै चुनाव लड्दै आईरहेका छन् । 

अहिले प्रचण्डलाई चुनाव लड्नका लागि उनको जन्मथलो कास्की ३ बाट सिफारिस भएको छ । सम्वन्धित निर्वाचन क्षेत्रको पार्टी बैठकले कास्की ३ मा चुनाव लड्न प्रचण्डलाई पहिलो नम्बरमा नाम राखी सिफारिस गरेको हो । त्यहाँबाट प्रच्ण्डसहित १६ जनाको नाम सिफारिस गरेको छ । 

त्यस्तै प्रचण्डलाई चुनाव लड्न सिन्धुलीबाट पनि सिफारिस आएको छ । सिन्धुली २ बाट उनी पहिलो नम्बरमा उम्मेदवार सिफारिस भएका छन् । त्यहाँ प्रचण्डसहित हरिबोल गजुरेल, महेश्वर दाहाल लगायत नेताहरु सिफारिसमा परेका छन् । प्रचण्डलाई महोत्तरी क्षेत्र नम्बर ४ बाट पनि चुनाव लड्न सिफारिस गरिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक प्रचण्डलाई पहलिो नम्बरमा महोत्तरी ४ ले पनि चुनाव लड्न सिफारिस गरेको हो । 

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट पनि प्रचण्डको नाम सिफारिस भएको छ । उनले पहिलो संविधानसभामा चुनाव लडेका रोल्पाबाट पनि चुनाव लड्न सिफारिस भएको छ । उनी २०६४ मा भएको पहिलो संविधानसभा चुनावमा रोल्पा र काठमाडौं १० बाट चुनाव लडेर दुवै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । पछि उनले रोल्पा छोडेका थिए, त्यहा उपचुनाव हुँदा जयपुरी घर्ती निर्वाचित भएकी थिइन् । 

यसपटक रोल्पाले फेरि प्रचण्डलाई चुनाव लड्न नाम सिफारिस भएको हो । रोल्पाबाट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) को नाम एक नम्बरमा राखेर वर्षमान पुन लगायत नेताहरुलाई उम्मेदवार सिफारिस गरेको छ । प्रचण्ड गोरखा १ बाट पनि चुनाव लड्नका लागि सिफारिस  भएका छन् । गत चुनावमा गोरखा २ बाट निर्वाचित प्रचण्डलाई यसपटक गोरखा १ बाट चुनाव लड्न सिफारिस गरिएको नेकपा गोरखाका इञ्चार्ज अमर तमुले जानकारी दिए।

उनको नाम नुवाकोट क्षेत्र नम्बर १ बाट पनि सिफारिस भएको छ । नुवाकोट १ मा प्रचण्ड सहित हितबहादुर तामाङको नाम सिफारिस भएको छ । नेपालीक म्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार, अहिलेसम्म संयोजक प्रचण्डलाई चुनाव लड्नका लागि झण्डै आधा दर्जन भन्दा बढी निर्वाचन क्षेत्रबाट सिफारिस आएको छ । अझै कतिपय निर्वाच क्षेत्रले उम्मेदवार सिफारिस गर्ने क्रम चलिरहेकोले उनलाई अन्यउ ठाँउबाट पनि चुनाव लड्नका लागि प्रस्ताव आउने सम्भाबना देखिएको छ । 

प्रचण्डले भने यसपटक चुनाव कहाँबाट लड्लान् भन्ने बारेमा कुनै निर्णय लिएका छैनन । उनले यसबारेमा अहिले केही बताएका छैनन ।

प्रतिक्रिया दिनुहोस