काठमाडौँ । जेनजी आन्दोलनपछि सरकार र प्रमुख राजनीतिक दलका शीर्ष नेताबिच लामो समयदेखि देखिँदै आएको संवादहीनता अन्ततः टुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा मंगलबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख तीन दलका शीर्ष नेताहरू एकै ठाउँमा बसेर भेटवार्ता गरेपछि सरकार–दल सम्बन्धमा ‘ब्रेक थ्रु’ भएको हो ।
प्रधानमन्त्री कार्की नेतृत्वको जेनजी सरकार गठन भएको करिब तीन महिनापछि भएको यो भेटवार्ता राजनीतिक रूपमा निकै अर्थपूर्ण मानिएको छ । यसअघि प्रधानमन्त्री कार्कीले प्रमुख दलका शीर्ष नेतासँग अलग–अलग भेटवार्ता नगर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएकी थिइन् । उता, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलगायत महत्वपूर्ण विषयमा सरकारसँग कुनै औपचारिक संवाद नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए ।
मंगलबार शीतल निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए । छलफलको केन्द्रमा मुलुकको वर्तमान राजनीतिक अवस्था, फागुन २१ गते हुने निर्वाचन र त्यसका लागि आवश्यक वातावरण निर्माणका विषय रहेका थिए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उक्त भेटवार्ता सकारात्मक निष्कर्षमा पुगेको छ । “निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण बनाउने विषयमा समझदारी बनेको छ,” पोखरेलले बताए । उनका अनुसार मंगलबारको छलफलपछि विस्तृत संवादका लागि पुनः बैठक बस्ने सहमति समेत भएको छ, जुन बैठक बालुवाटारमा आयोजना गरिनेछ ।
छलफलका क्रममा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले सरकारले निर्वाचनको वातावरण पर्याप्त रूपमा तयार गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरूले राजनीतिक स्थायित्व, सुरक्षा अवस्था र प्रशासनिक तयारीबारे सरकारको भूमिकामा प्रश्न उठाउँदै निर्वाचनको वातावरण बनाउन सरकार स्वयं अग्रसर हुनुपर्नेमा जोड दिएका थिए । यसअघि एमाले र कांग्रेसले संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतसमेत गएको पृष्ठभूमिमा यो भेटवार्ता भएको हो ।
एमाले अध्यक्ष ओलीले संसद पुनर्स्थापना गरेर सर्वदलीय सरकार गठन गर्दै संसदबाटै जेनजी आन्दोलनका माग सम्बोधन गर्न सकिने प्रस्ताव अघि सारेका थिए । त्यही बेला राष्ट्रपति भवनमा भएको त्रिपक्षीय भेटवार्तालाई राजनीतिक संवादको नयाँ सुरुआतका रूपमा हेरिएको छ ।
यद्यपि, नेकपाका संयोजक प्रचण्डले भने वर्तमान परिस्थितिमा निर्वाचन नै समस्याको निकास भएको धारणा राखेका थिए । राष्ट्रपतिले गर्न सक्ने विकल्प पनि सीमित रहेको उल्लेख गर्दै प्रचण्डले अब घोषित मितिमै निर्वाचनतर्फ जानु उपयुक्त हुने जिकिर गरेका थिए ।
प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनको वातावरण बनाउन प्रयत्नशील रहेको स्पष्ट पार्दै सबै राजनीतिक दललाई निर्वाचनका लागि तयार रहन र सहकार्य गर्न आग्रह गरेकी थिइन् । उनले लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्न समयमै निर्वाचन आवश्यक रहेको बताउँदै सरकार एक्लै होइन, सबै दलको सहयोग अनिवार्य हुने धारणा राखेकी थिइन् ।
छलफलका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले देशको अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै त्यसको निकासका लागि निर्वाचन नै उपयुक्त माध्यम भएको बताएका थिए । “देशको वर्तमान जटिल अवस्थाको समाधानका लागि घोषित निर्वाचनलाई सफल बनाउनु हामी सबैको साझा दायित्व हो,” राष्ट्रपति पौडेलले शीर्ष नेताहरूसँग भनेका थिए । उनले प्रधानमन्त्री र प्रमुख दलका नेताहरूलाई फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन सफल बनाउन जिम्मेवार भूमिका निर्वाह गर्न आग्रहसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ पुस २०८२, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिपुलेकबाटै सुरु हुने भयो ‘नयाँ सरकारको अग्निपरीक्षा’
उज्यालो नेपाल पार्टीद्वारा सरकारलाई कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न ध्यानाकर्षण
अबको सरकार १५ मन्त्रालयमै सीमित हुने, कुन–कुन मन्त्रालय गाभिन सक्छन् ?
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
प्रतीक्षा नयाँ सरकारको, चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री चयन प्रक्रियाले पूर्णता पाउने
दुई सातापछि नयाँ सरकार