सरकार र दलका शीर्ष नेताबिचको संवादमा ‘ब्रेक थ्रु’

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०८२, २० : १९
सरकार र दलका शीर्ष नेताबिचको संवादमा ‘ब्रेक थ्रु’

काठमाडौँ । जेनजी आन्दोलनपछि सरकार र प्रमुख राजनीतिक दलका शीर्ष नेताबिच लामो समयदेखि देखिँदै आएको संवादहीनता अन्ततः टुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा मंगलबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख तीन दलका शीर्ष नेताहरू एकै ठाउँमा बसेर भेटवार्ता गरेपछि सरकार–दल सम्बन्धमा ‘ब्रेक थ्रु’ भएको हो ।

प्रधानमन्त्री कार्की नेतृत्वको जेनजी सरकार गठन भएको करिब तीन महिनापछि भएको यो भेटवार्ता राजनीतिक रूपमा निकै अर्थपूर्ण मानिएको छ । यसअघि प्रधानमन्त्री कार्कीले प्रमुख दलका शीर्ष नेतासँग अलग–अलग भेटवार्ता नगर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएकी थिइन् । उता, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलगायत महत्वपूर्ण विषयमा सरकारसँग कुनै औपचारिक संवाद नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए ।

मंगलबार शीतल निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए । छलफलको केन्द्रमा मुलुकको वर्तमान राजनीतिक अवस्था, फागुन २१ गते हुने निर्वाचन र त्यसका लागि आवश्यक वातावरण निर्माणका विषय रहेका थिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उक्त भेटवार्ता सकारात्मक निष्कर्षमा पुगेको छ । “निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण बनाउने विषयमा समझदारी बनेको छ,” पोखरेलले बताए । उनका अनुसार मंगलबारको छलफलपछि विस्तृत संवादका लागि पुनः बैठक बस्ने सहमति समेत भएको छ, जुन बैठक बालुवाटारमा आयोजना गरिनेछ ।

छलफलका क्रममा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले सरकारले निर्वाचनको वातावरण पर्याप्त रूपमा तयार गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरूले राजनीतिक स्थायित्व, सुरक्षा अवस्था र प्रशासनिक तयारीबारे सरकारको भूमिकामा प्रश्न उठाउँदै निर्वाचनको वातावरण बनाउन सरकार स्वयं अग्रसर हुनुपर्नेमा जोड दिएका थिए । यसअघि एमाले र कांग्रेसले संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतसमेत गएको पृष्ठभूमिमा यो भेटवार्ता भएको हो ।

एमाले अध्यक्ष ओलीले संसद पुनर्स्थापना गरेर सर्वदलीय सरकार गठन गर्दै संसदबाटै जेनजी आन्दोलनका माग सम्बोधन गर्न सकिने प्रस्ताव अघि सारेका थिए । त्यही बेला राष्ट्रपति भवनमा भएको त्रिपक्षीय भेटवार्तालाई राजनीतिक संवादको नयाँ सुरुआतका रूपमा हेरिएको छ ।

यद्यपि, नेकपाका संयोजक प्रचण्डले भने वर्तमान परिस्थितिमा निर्वाचन नै समस्याको निकास भएको धारणा राखेका थिए । राष्ट्रपतिले गर्न सक्ने विकल्प पनि सीमित रहेको उल्लेख गर्दै प्रचण्डले अब घोषित मितिमै निर्वाचनतर्फ जानु उपयुक्त हुने जिकिर गरेका थिए ।

प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनको वातावरण बनाउन प्रयत्नशील रहेको स्पष्ट पार्दै सबै राजनीतिक दललाई निर्वाचनका लागि तयार रहन र सहकार्य गर्न आग्रह गरेकी थिइन् । उनले लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्न समयमै निर्वाचन आवश्यक रहेको बताउँदै सरकार एक्लै होइन, सबै दलको सहयोग अनिवार्य हुने धारणा राखेकी थिइन् ।

छलफलका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले देशको अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै त्यसको निकासका लागि निर्वाचन नै उपयुक्त माध्यम भएको बताएका थिए । “देशको वर्तमान जटिल अवस्थाको समाधानका लागि घोषित निर्वाचनलाई सफल बनाउनु हामी सबैको साझा दायित्व हो,” राष्ट्रपति पौडेलले शीर्ष नेताहरूसँग भनेका थिए । उनले प्रधानमन्त्री र प्रमुख दलका नेताहरूलाई फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन सफल बनाउन जिम्मेवार भूमिका निर्वाह गर्न आग्रहसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस