स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा ८७ लाख रुपैयाँ भित्र्याएको हो ।
विगतमा कोदो तथा मकै बाली हुने ठाउँमा नगदेबालीका रूपमा सुन्तलाखेती थालेसँगै गाउँमा आम्दानी बढ्दै गएको समूहका अध्यक्ष यामबहादुर सेनले जानकारी दिए ।
अर्बकुना सुन्तला समूहमा हाल ३१ सुन्तलाखेती गर्ने किसान आबद्ध छन् । ‘समूहमा आबद्ध भएका सबै किसानले न्यूनतम एक लाखदेखि अधिकतम १५ लाखसम्म आम्दानी गर्दै आएका छन्’, उनले भने, ‘केही मात्रामा कोदो, मकै हुने जमिनबाट अहिले प्रत्येक घरले नगदेबालीका रूपमा सुन्तलाखेती गरेसँगै राम्रो आम्दानी हुने गरेको छ ।’
पछिल्लो समय गाउँमा रहेका सबै घरलाई समूहमा आबद्ध गराएर एकापसमा मिलेर सुन्तलाखेतीलाई विस्तार गर्दै गएकाले आगामी वर्षहरूमा सुन्तलाको उत्पादन र आम्दानी वृद्धि हुने दाबी अध्यक्ष सेनको छ । ‘पुराना बोटबाट सुन्तला उत्पादन भइरहेको छ, नयाँ बोट थप्ने क्रम निरन्तर रूपमा चलिरहेको छ’, उनले भने, ‘आगामी वर्षमा मात्रै यस समूहबाट एक करोड बढीको सुन्तला बिक्री गर्छौँ, त्यसपछिका वर्षहरूमा त झनै वृद्धि हुँदै जान्छ ।’
यहाँ उत्पादन भएको सुन्तला किसान स्वयं वा समूहमार्फत पनि बिक्री गर्ने गरिएको छ । यहाँका किसानले सुन्तला खरिदका लागि आएका स्थानीय व्यापारीलाई बगैँचा नै ठेक्कामा दिने गरेका छन् भने केही किसानले फुटकर रूपमा बिक्री गरेका हुन् ।
किसानले बोटमा भएको उत्पादनका आधारमा व्यापारीसित बोलकबोल गरेर मूल्य निर्धारण गर्छन् । केही किसानले प्रतिकेजी ६० देखि ७० रुपैयाँका दरले व्यापारीलाई सुन्तला बिक्री गरेका हुन् । यहाँ उत्पादन भएको सुन्तला र त्यसको आम्दानीको हिसाबकिताब समयसमयमा समूहमार्फत हुने गरेको छ । सामूहिक रूपमा बैठक बसेर बजारीकरण, मूल्य निर्धारण, आइपरेका समस्या र त्यसको समाधानका विषयमा छलफल गरी समाधान निकाल्ने गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ पुस २०८२, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषकलाई सुन्तला ढुवानीमा सधैँको समस्या
सुन्तलामा फल झर्ने रोग देखियो, चिन्तामा किसान
नमूना बगैँचा बनाउन किसानलाई सुन्तलाका बिरुवा वितरण
म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो
नवलपुरमा ९ करोडको सुन्तला उत्पादन
सुन्तला बिक्रीबाट पाल्पामा भित्रियो ५२ करोड ७६ लाख