प्राकृतिक शीतभण्डारले किसानलाई राहत

सफल खबर संवाददाता

मंगलबार, २३ मंसिर २०८२, ०८ : ५२
प्राकृतिक शीतभण्डारले किसानलाई राहत

पाँचथर  । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन् ।

उत्पादनको याम सकिएपछि बजारमा पुर्याउँदा प्राकृतिक शीतभण्डारमा राखिएको किबीको मूल्य तेब्बर बढी हुने र स्वाद उस्तै रहने गरेको छ । किबीको व्यावसायिक खेतीको शीप सिक्न विसं २०७६ मा इलाम पुगेका राईले प्राकृतिक शीतभण्डारमा किबी राख्न सकिने थाहा पाउएका थिए । चार वर्षअघि शीतभण्डार निर्माण गरेपछि राईले चार महिनादेखि छ महिनासम्म किबी भण्डारण गरी बजारमा लैजाने गरेका छन् ।

“मेरो अनुभवमा जमिनअनुसार शीतभण्डार बनाउन सकिन्छ । मौसमका कारण कतिपय ठाउँमा यहाँ जसरी नटिक्न सक्छ”, उनले भने, “मेरो जग्गा आफैँमा चिसो ठाउँमा छ । यहाँ प्रत्यक्ष घामले नभेट्ने हुँदा शीतभण्डारले काम दिएको छ । मेरो जग्गा त उत्तम छ जस्तो लाग्छ ।” प्राकृतिक शीतभण्डार जमिनमा खाडल खनेर काठ विच्छ्याइ बनाइएको छ । जहाँ क्यारेटमा किबी राखिन्छ भने पानीबाट जोगाउन त्रिपालले ढाकिएको छ । राईका अनुसार मङ्सिरमा भण्डारण गरिएको किबी वैशाख–जेठसम्म उस्तै रहन्छ ।

राईको प्राकृतिक शीतभण्डारमा ६० क्यारेटसम्म किबी अट्छ । “भविश्यमा प्राकृतिक शीतभण्डार नै ठूलो र एकदमै आकर्षक बनाउने मेरो सपना छ”, उनले भने, “शीतभण्डारमा विद्युत् प्रवाह अनियमित हुने हुँदा बिग्रन सक्ने भए पनि यहाँ प्राकृतिक चिसोका कारण कुनै समस्या आएको छैन ।”

उत्पादन गरेको सामग्रीले मूल्य नपाउँदा किसानको विजोक हुने गरेको भए पनि आफूलाई प्राकृतिक शीतभण्डारले राहत दिएको किसान राईले बताए । फागुनभन्दा पछाडि राम्रो मूल्य पाउने भएपछि शीतभण्डारमा राखिएको किबी बिक्री गर्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस