कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भोलि विशेष भेला

गगन विश्वप्रकाश सहभागी नहुने, विशेष महाधिवेशनको मिति तोक्न दवाव दिने

सफल खबर संवाददाता

मंगलबार, ०९ मंसिर २०८२, ०९ : ५६
कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भोलि विशेष भेला

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गरेका नेताहरुले भोलि काठमाडौंमा विशेष भेला आयोजना गर्न लागेका छन् । काठमाडौंको राष्टिय सभा गृहमा उनीहरुले विशेष भेला बोलाएका छन् । 

कांग्रेसले महाधिवेशनका बारेमा गत असोज २८ यता छलफल गरेपनि निर्णय लिन सकेको छैन । कांग्रेसमा नियमित महाधिवेशन गर्ने या विशेष महाधिवेशन गर्ने ? फागुन २१ को चुनाव अगाडी गर्ने या पछाडी गर्ने भन्ने गोलचक्करमा कांग्रेस छ । 

कांग्रेसमा जेनजी पुस्ताको आन्दोलनपछि नेतृत्व परिवर्तनको माग राखेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णवहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । त्यही हस्ताक्षर बुझाएको समूहले १० मंसिर (बुधबार) विशेष भेला बोलाएका छन् । 
काठमाडौंको राष्ट्रिय सभामा बोलाइएको विशेष भेलामा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुनेछैनन् । तर, चुनावअघि नै महाधिवेशन हुनुपर्ने तथा पार्टी पुनर्संरचना हुनुपर्ने आवाज उठाएका नेता सहभागी हुनेछन् । 

भेलाले विशेष महाधिवेशनका बारेमा केन्द्रीय समितिलाई दबाब दिने र बिहीबारपछि कुनै निर्णय लिने सन्देश प्रवाह गर्ने दावी गरिएको छ । कांग्रेसको अर्काे बैठक बिहिबारका लागि बोलाइएको छ । 

‘यो सामान्य भेला होइन, विशेष भेला हो । यसले विशेष महाधिवेशनको निर्णय लिन पनि सक्छ । यसलाई सामान्य रूपमा हेर्नुहुँदैन ।’ विशेष महाधिवेशन पक्षधर नेताहरुले दावी गरेका छन् । तर, संस्थापननिकट केन्द्रीय सदस्यहरूले बिहीबारको केन्द्रीय समिति बैठकसम्म कुर्न उनीहरुलाई सुझाव दिएका छन् ।