पार्टीभित्रै चेपुवामा अशोक राई, को सँग गर्लान् एकता ?

सफल खबर संवाददाता

आइतबार, ०७ मंसिर २०८२, ०९ : ५०
पार्टीभित्रै चेपुवामा अशोक राई, को सँग गर्लान् एकता ?

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा दुई धार देखा परेको छ । सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत नेताहरु नेपाली कम्युनिष्ट पार्टीसँग एकतामा जानुपर्ने पक्षमा छ । तर, महासचिव मोहम्मद इस्तियाक राई, उपमहासचिव प्रदीप यादव लगायत नेताहरु मधेस केन्द्रीत विचार मिल्ने दलसँग एकतामा जानुपर्ने अडानमा छन् । 

जसकाकारण अध्यक्ष अशोक राई भने कुनै निर्णयमा पुग्न सकिरहेका छैनन । पार्टीभित्र देखा परेको दुई धारका कारण राईले पार्टी बैठक समेत नबोलाई पर्ख र हेरको नीति लिन थालेका छन् । उनी अहिले दुवै तिरको तानातानको चेपुवामा छन् ।

मधेस केन्द्रीत दलले मधेसका दलहरु मिलेर चुनावमा जानुपर्ने मत मात्र राखेका छैनन, उपेन्द्र यादवबाट नै विभाजित भएर बनेको यो दललाई यादवले पूनः एकताको प्रस्ताव राखेका छन् । यसले पनि राई नेतृत्वको जसपाले निर्णय लिन नसकेको हो ।

राईलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले नेपाली कम्युनिष्ट पार्टीसँग एकतामा आउन आग्रह गरिरहेका छन् । यधपी, राईले एमाले छोडेर गएदेखि नै कम्युनिष्ट नाम गरेको पार्टीसँग आबद्दता तोडने बताएका कारण उनी के गर्ने निश्कर्षमा पुग्न सकिरहेका छैनन ।

जसपाले पार्टी एकता र सहकार्यको सम्भाबनाको खोजीका लागि पार्टीको संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति बनाएको थियो । उक्त समितिले विचार मिल्ने पार्टी , समुहसँग वार्ता गरेर प्रतिवेदन पार्टीमा बुझाउन र त्यसपछि पार्टीले निर्णय गरेर एकतामा जाने योजना बनाएको थियो । नेपाली कम्युनिष्ट पार्टीमा गएपनि या मधेस केन्द्रीत पार्टीसँग गएपनि यो पार्टी आफु संग्लो हुनेतिर भने छैन । उसले कुनै न कुनै पार्टीसँग एकता गरेर चुनावमा जाने तयारी गरेको छ । 

वार्ता समितिका संयोजक तथा संघीय परिषद् अध्यक्ष श्रेष्ठ पार्टीको निर्णय अनुसार नेपाली कम्युनिष्ट पार्टीसँग छलफलमा रहेको र छलफल गरेर धेरै विषय टुंग्गो लगाईसकेको बताउँछन् । ‘पार्टीले निर्णय गरेरै हामीले नेपाली कम्युनिष्ट पार्टीसँग सम्वाद थालेका हौं ।

दुवै पक्षले दस्ताबेजहरू अध्ययन गरेर मिल्ने र नमिल्ने बिन्दुहरू छुट्यौँ। नमिलेका कुराहरूमा पनि वार्ता समितिको तर्फबाट छलफल गरेर टुङ्गाएको छौँ।’ श्रेष्ठले सफलखबरसँग भने, ‘हामीले बाँकी कुरा कार्यकारिणी समिति बैठकमा राखेर टुङ्ग्याउने भन्ने कुरा भएको हो। त्यही अनुसार हामी अगाडी बढिरहेका छौं ।’

श्रेष्ठ नेतृत्वको वार्ता टोलीले नेकपासँग छलफल गरेर ८ बुँदे सहमतिको डाफ्ट तयार पारिसकेको छ । तर, पार्टीभित्रै महासचिव मोहम्मद इस्तियाक राई, उपमहासचिव प्रदीप यादव लगायत भने नेकपासँग भन्दा मधेस केन्द्रीत दलसँगको एकतामा जोड लगाईरहेका छन् । महासचिव इस्तियाक राईले राजेन्द्र श्रेष्ठले नेपाली कम्युनिस्ट पार्टीमा जान व्यक्तिगतरुपमा वार्ता गरिरहेको र पार्टीले नेकपासँग एकता नगर्ने बताईरहेका छन् । महासचिव राई, उपमहासचिव यादव लगायत नेताहरु विचार मिल्ने मधेश केन्द्रित दलहरुसँग एकता गर्नुपर्ने पक्षमा छन् ।

पार्टीभित्रै को सँग एकतामा जाने भन्नेमा देखा परेको दुई धार र यसले पार्टीलाई फेरि विभाजनमा ल्याउने देखेपछि अध्यक्ष अशोक राई भने अहिलेसम्म कतै खुलेका छैनन् । श्रेष्ठको तत्काल नेकपासँग एकतामा जानुपर्ने लाइन र मोहम्मद इस्तियाक राई लगायत नेताको विचार मिल्ने दलसँग एकता गर्नुपर्ने लाइनको चेपुवामा अशोक राई परेका छन् । उनले सोही कारण श्रेष्ठ नेतृत्वको वार्ता टोलीले बनाईसकेको ८ बुँदे सहमतिको डाफ्ट अव बस्ने कार्यकारिणी समितिको बैठक राख्ने वित्तिकै पेश हुने र त्यसले पार्टीलाई विभाजनमा लाने देखेपछि ६ दिन यता बैठक नबोलाई बसेका छन् । 

‘बैठक बोलाउँदा राजेन्द्रले नेकपासँग भएको वार्ता र त्यसमा भएको सहमतिको ८ बुँदे डाफ्ट ल्याउने र त्यसमा महासचिवलगायतले विरोध गरेपछि पार्टी करिव विभाजनमा जाने देखियो,’ अध्यक्ष अशोक राई निकट एक नेताले सफलखबरसँग भने,‘त्यसपछि अध्यक्षले पहिले दुवै धारका नेताहरुसँग अनौपचारिक छलफल गर्ने गरी अहिले बैठक नबोलाउनु भएको हो । उहाँ दुवै धारका नेताहरुसँग अनौपचारिक छलफलमा हुनुहुन्छ ।’

राई भने जता पार्टी एकतामा गएपनि सिंगो कमिटि नै त्यतै विभाजित नभई एकतामा जानुपर्ने पक्षमा देखिन्छन् । उनी नेकपा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालसँग निरन्तर संवादमा छन् । तर उनी पनि उपेन्द्र यादव या मधेस केन्द्रीत दलसँग भन्दा नेपाली कम्युनिष्ट पार्टीसँगै बरु नजिक भएर एकतामा जान सकिने भित्री मनस्थितीमा छन् । 

पार्टीका नेताहरुको जिम्मेवारी सोही अनुसार बनाउन सकिए उनी नेकपासँग एकतामा जानु उपयुक्त हुने ठम्याईमा छन् । तर, पार्टीभित्रको बलियो जनमत भने मधेस केन्द्रीत दलसँगको एकतामा जानुपर्ने पक्षमा रहेका महासचिव र उपमहासचिवसँग रहेकोले राई हच्किईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस