रास्वपाको हस्ताक्षर अभियान’मा कति उठ्यो पैसा ?

सफल खबर संवाददाता

आइतबार, २३ कार्तिक २०८२, ०८ : ४०
रास्वपाको हस्ताक्षर अभियान’मा कति उठ्यो पैसा ?

काठमाडौँ । विघटित प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै त्यसविरुद्द चलाएको हस्ताक्षर अभियानमा देश विदेशबाट कति पैसा जम्मा भयो होला ?

अदालतको फैसलाविरुद्द हस्ताक्षर गर्ने र पैसा संकलन गर्ने काम रास्वपाले गरेको थियो । रास्वपाले यस्तो अभियान चलाउँदा यसको पक्ष-विपक्षमा मत सार्वजनिक भएका थिए । तर रास्वपाले अभियानको संयोजक नै तोकेर यस अभियानलाई अगाडी बढाएको थियो ।

गत असार ७ गतेदेखि भदौं २३ अगाडीसम्म (जेनजी अन्दोलनअघिसम्म) सञ्चालन गरिएको उक्त अभियान उसले रणनीतिक अर्थका साथ चलाएको बताउँदै आएको थियो । 

उक्त अभियानमा देशभित्र-बाहिरबाट जम्मा भएको रकमको फेहरिस्त रास्वपाले सार्वजनिक गरेको छ । पार्टीको चितवनमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकमा अभियानका संयोजक दीपक बोहोराले हिसावकिताव सार्वजनिक गरेका हुन् । 

उनले अभियानका क्रममा कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ देश विदेशबाट सहयोग प्राप्त भएको हिसाव सार्वजनिक गरेका छन् । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट  ११ लाख १३ हजार ७५ नगद, केन्द्रीय कार्यालयमा चेकबाट २ लाख ६० हजार ७ सय ७७ र क्यूआर कोड र बैंकमार्फत ५३ लाख ८५ हजार ६ सय ७० रुपैयाँ संकलन भएको रास्वपाले जनाएको छ । 

त्यस्तै, अभियान सञ्चालनका क्रममा ३३ लाख ७२ हजार ४ सय ४२ रुपैयाँ खर्च भएको विवरण पनि अभियान संयोजक बोहराले जानकारी दिएका छन् । जसमा अपील र हस्ताक्षर फारम छपाईमा १९ लाख ६९ हजार ६ सय ६९ रुपैयाँ, फ्लेक्स, व्यानर आदि छपाईमा ६ लाख २ हजार ७ सया १२ रुपैयाँ, तयारी तथा प्राविधिकमा ५९ हजार २ सय ९१ रुपैयाँ र बुथ प्रतिनिधि (स्यम सेवक)र कर्मचारी शिर्षकमा ६ लाख ५८ हजार ८ सय रुपैयाँ र विविध शिर्षकमा ८१ हजार ९ सय ७० रुपैयाँ खर्च भएको बोहोराले हिसाव देखाएका हुन् । 

अब रास्वपासँग अभियानका क्रममा उठेको रकममध्येबाट ३३ लाख ८७ हजार ८० रुपैयाँ बचत रहेको संयोजक बोहोराले जानकारी दिएका छन् । ती पैसा बैंक खातमा मौज्दात रहेको पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस