काठमाडौँ । निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न भएको आंशकामा प्रहरीले तीन जनामाथि थप अनुसन्धान अगाडि बढाएको छ । एक जनालाई राजधानीबाट पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ भने दुई जनालाई कञ्चनपुरबाट काठमाडौँ झिकाएको छ ।
काठमाडौँमा पक्राउ गरिएका एकजना निर्मलाकै गाउँ भीमदत्तनगरपालिकाका हुन् । उनको डीएनए नमुना परीक्षणको लागि केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाइएको छ ।
घटनाका बेला गाउँमै रहेका ती किशोरलाई यसअघि पनि अनुसन्धानका लागि पक्राउ गरी छाडिएको थियो । त्यसपछि ती किशोर भारत गएका थिए । प्रहरीले पुनः अनुसन्धान गर्न ती किशोरलाई काठमाडौँ सुन्धाराबाट पक्राउ गरेको हो ।
कञ्चनपुर प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा अन्य दुईजनालाई अनुसन्धानको लागि काठमाडौँ पठाएको छ । निर्मला घर फर्किने बाटोमा दुव्र्यसनीहको अखडा रहेको हुनाले प्रहरीले पछिल्लो समय निर्मलाका घर वरपरका दुव्र्यसनीहरुलाई अनुसन्धानको लागि अगाडि बढाएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं केन्द्रीय अनुसन्धान ब्युरो पुगेर बुझ्ने काम थालेपछि पछिल्लो समय प्रहरीले निर्मला हत्याको अनुसधानलाई तीव्रता दिएको हो ।
यसअघि मुख्य दोषी भन्दै सार्वजनिक गरिएका व्यक्ति डीएनए परीक्षणबाट छुटेपछि प्रहरीले पछिल्लो पक्राउ र अनुसन्धान गोप्य राखेको छ ।
लागूऔषध दुव्र्यसनीसमेत रहेका दुई जनालाई अनुसन्धानको लागि काठमाडौँ पठाइएको छ । निर्मला घर फर्किने बाटामा लागूऔषध दुव्र्यसनीको अखडा रहेको र तिनीहरूले एक्लै आउजाउ गर्ने किशोरीलाई अश्लील संकेत गर्दै तर्साउने गरेको प्रहरीले सूचना पाएको थियो । प्रहरीका अनुसार अहिले अनुसन्धानमा तानिएका तीनै जना त्यस्ता लागूऔषध दुव्र्यसनी गतिविधिमा संलग्न थिए ।
डीएसपी कृष्णराज ओझाले सोधपुछका लागि मात्र पठाइएको बताए । दुवै किशोरका साथमा उनीहरूका बुबा गएका छन् ।
प्रतिक्रिया दिनुहोस