मिथिलामा सुरु भयो छठपर्व, आज ‘नहाय-खाए’

सफल खबर संवाददाता

शनिबार, ०८ कार्तिक २०८२, ०७ : २४
मिथिलामा सुरु भयो छठपर्व, आज ‘नहाय-खाए’

जनकपुर । मिथिलामा आजदेखि औपचारिक रूपमा छठ पर्व सुरु भएको छ। मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई यतिबेला सिँगार्ने काम भइरहेको छ। 

जनकपुरमा रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको हो।

गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतका वर्ष जस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिएको जानकारी दिए। उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिएको दाबी गरे।

यो वर्ष छठ पूजाको लागि प्रतिअघ्र्य ६ सय शुल्क निर्धारण गरिएको उनले बताए। ‘यस्तो शुल्क सबैले दिँदैनन्। नदिनेले पनि यहाँ अघ्र्य राख्न पाउँछन्, उनले भने,  प्रत्येक वर्ष रु ३००/३५० पुर्जा काट्ने गरिएको छ। श्रद्धालु भक्तजनहरूबाट आएको रुपैयाँले यसको व्यवस्थापनमा लाग्ने खर्च निस्किहाल्छ।’

गङ्गासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा पुगेको छ भने झिलीमिली बत्तीको काम बाँकी छ। गङ्गासागरमा तीन वटा समितिले सजावटको काम गरिरहेका छन्।

यस्तै, अरगजासरमा छठ घाट निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दसैँ सकिएपछि आफूहरू तयारीमा जुटिसकेको बताए। उनले सजावट तथा सफाइका लागि अहिले काम भइरहेको जानकारी दिए। 

यो पोखरीमा हिन्दूहरू मात्र नभई मुस्लिम समुदायका मानिसले पनि छठ पूजा गर्ने गरेका छन्। 

प्रतिक्रिया दिनुहोस