काठमाडौ । काठमाडौंदेखि डडेल्धुरा टाढै छ, तर नेपाली राजनीतिमा त्यो दूरी कहिल्यै अनुभूत हुँदैन । किनभने सत्ता वा सत्ताको छायाँ, दुवै कतै न कतै शेरबहादुर देउवाको नामसँग जोडिन्छ । तर यसपटक त्यो नाम कुनै शक्तिशाली निर्णयसँग होइन, एउटा शान्त बिदाइसँग जोडिएको छ ।
कहिले तत्कालिन राजा ज्ञानेन्द्रको प्रतिगमन सच्चिएको भन्दै पूनः प्रधानमन्त्री बन्नपुगेका कारण आलोचित, कहिले सत्ताको संयमका कारण प्रशंसित । आफुँले हाँकिरहेको र बलियो पकड बनाईराखेको पार्टी सभापति देउवाले भदौं २३ र २४ को जनेजी विद्रोहपछि आफुै लुटिएर, पिल्सिएर र चुटिएर नेतृत्व हस्तान्तरण गर्ने बाटो सहज लिईदिए । त्यो उही देउवा हुन्, जसले भर्खरै भनेका छन्, ‘अब म पार्टीको अभिभावक मात्रै हुन्छु ।’
त्यो वाक्य बोलेर उनले काँग्रेसको इतिहासमा एउटा ढोका बन्द गरे । र अर्को ढोका खोले, जहाँ देउवा अब ‘नेता’ होइन, ‘अभिभावक’ बनेका छन्।
उनको सबैभन्दा ठूलो योगदान भनेको उनले लोकतन्त्रको बाटो कहिल्यै त्यागेनन् । कांग्रेसको हालको अवस्था उनको दीर्घ कार्यकालको अन्त्यसँगै नयाँ दिशामा उन्मुख छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको युवा पुस्ता अब केन्द्रमा छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का तटस्थताको भूमिकामा छन् । तर, देउवाको प्रभाव काँग्रेसको हरेक तहमा अझै पनि बाँच्नेछ ।
२८ असोजको दिउँसो, पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चलिरहेको थियो । कसैले पनि त्यो दिन देउवाले केही विशेष घोषणा गर्लान् भन्ने अपेक्षा गरेका थिएनन् । बरु उनले भदौं २३ र २४ का घटना र आफु र श्रीमती डा आरजु राणा देउवासम्म पिटिएको घटनाको बारेमा बताएर इमोशनल मन्तब्य दिन सक्ने आम बुझाई थियो । तर, जब उनले हलभित्र स्थिर स्वरमा भने– ‘अब जिम्मेवारी पूर्णबहादुरजीले सम्हाल्नुहुन्छ ।’ हल केही क्षण मौन भयो ।
त्यो मौनता एक प्रकारको श्रद्धा थियो - ती नेता जसले तीन दशकभन्दा बढी समय काँग्रेसलाई सम्हाले, पाँचपटक प्रधानमन्त्री बने, र अब इतिहासको पाना आफैंले पल्टाइदिएका छन् । कसैले त फुसफुसाएर भन्यो, ‘राजनीतिमा यस्तो संयम अब बिरलै भेटिन्छ ।’
२००३ सालको डडेल्धुराको रुवाखोलाको अस्रिगाम गाउँ । माटोको घर, साँघुरा बाटा र राजनीतिबाट टाढा एक संसार । त्यो गाउँका एक केटाले १७ वर्षकै उमेरमा (२०२० सालमा) देश बदल्नुपर्छ भनेर राजनीतिक यात्रा सुरु गरे । त्यो केटा पछि त्रिचन्द्र क्याम्पसमा विधार्थी नेताका रुपमा उदाए । २५ वर्षकै उमेरमा फेरि कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष बने । उनको नाम थियो – शेरबहादुर देउवा ।
त्यो समय कांग्रेसको आन्दोलन भूमिगत थियो, र उनले त्यही भूमिगत आन्दोलनको उज्यालोमा आफ्नै पहिचान लेखे । कैद, यातना, निर्वासन हुँदै उनी पार्टीको मुख्य धारमा आए । त्यो शान्त स्वभावका, धैर्यवान् र विचारशील नेताले कहिले बिस्तारै, कहिले अचानक, सिंहदरबारको ढोका पाँचपटक खोले ।
शेरबहादुर देउवा नेपाली राजनीतिका ‘संघर्ष र स्थायित्व’ दुवैका प्रतीक हुन् । संसद् विघटनदेखि पार्टी विभाजन, माओवादी युद्धविरामदेखि संविधानसम्म, उनले राजनीति सम्भावनाको सन्तुलनमा चलाए । तर आलोचना पनि त्यत्तिकै साथ रह्यो - कसैले उनलाई ‘कमजोर निर्णयकर्ता’ भने, कसैले ‘राजनीतिक भद्र मान्छे’ । तर इतिहासले सधैं भन्छ - देउवा न त निर्णायक भाषणका लागि प्रसिद्ध थिए, न जनभावनाको लहरका लागि; उनी त संयमका लागि परिचित रहे । उनले कहिल्यै हल्ला गरेनन्, तर देशका निर्णायक मोडमा उनी सधैं उपस्थित रहे ।
२०८२ भदौं २३ र २४ को जेन–जी पुस्ताको आन्दोलनले नेपाली राजनीतिलाई झस्कायो । राजनीतिबाट करिव हराउन चाहेका युवाहरू राजनीतिक चेतसहित सडकमा आए । पुराना नेताहरू आलोचनाको केन्द्रमा परे । त्यो आन्दोलनको हावा कांग्रेस, एमाले, माओवादीका हेडक्वार्टरसम्मै पुगे । पार्टी कार्यालयहरुमा पुगे । प्रधानमन्त्री देखि राष्ट्रपतिका निवाससम्म पनि पुग्यो । क्षणभरमा संसद भवन, सिंहदरवार देखि सर्वाेच्च अदालतसम्म जल्न थाल्यो । आफ्नै निवासमा रहेका देउवा दम्पनी निर्घात कुटिने अवस्थासम्म निम्तियो । लामो कठिन अवस्थाबाट आफ्नै निवासबाट उनीहरुलाई उद्दार गर्नुपर्ने अवस्था आयो । त्यही समयमा देउवाले अनुभूति गरे- अब समय नयाँ पुस्ताको हो । जनता सम्हाल्न नसक्ने गरी आक्रोशित भएका देखे । त्यसपछि उनले ‘पार्टीको जिम्मेवारी’ कुनै नेतालाई हस्तान्तरण गरेर सम्मानजनक बर्हिगमनको बाटो खोजे ।
अन्ततः पार्टीको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रुपमा हस्तान्तरण गरे । त्यो केवल पद हस्तान्तरण थिएन, त्यो समय हस्तान्तरण थियो- पुरानो पुस्ताबाट नयाँ पुस्तातर्फ । हुन त समय र उमेरका हिसावले पूर्णवहादुर पनि नयाँ पुस्ताका नेता होइनन्, तर पनि कांग्रेसमा नेतृत्व हस्तान्तरण नयाँ पुस्तामा सरेको थियो । जब देउवाले मञ्चमा हाँसेर भने, ‘घरमा सधैं एउटै मूली रहँदैन ।’ त्यो वाक्य इतिहास बन्यो। त्यो केवल राजनीतिक शैली होइन, सत्ता छोड्ने संस्कार थियो - जो नेपालको राजनीतिमा विरलै देखिन्छ ।
पत्नी डा. आरजु राणा देउवाको पदीय महत्वांकाक्षा, विवादित छविलाई छोडेर हेर्ने हो भने देउवा नेपालको राजनीतिमा दलहरु वीच हुने सहमतिमा इमानमा रहनुपर्छ भन्ने मान्यताका प्रतिक पनि हुन् । उनले एमाले कांग्रेसको सरकारमा सहमतिमा अडिरहे । पार्टीभित्र एमालेसँगको सहकार्य तोडन निक्कै दवाव आए । पखाईको प्रधानमन्त्री भन्दा तत्काल प्रधानमन्त्री बन्ने अफरहरु पनि आए । तर उनी एमालेसँग भएको ७ बुदे सहमतिको चटटानी अडानमा अडिरहे । राजनीतिमा धोकाधडी गर्नु हुँदैन, सहमतिको पालना गर्नुपर्छ भन्ने उनमा चेत थियो । त्यही भएर उनलाई आएका अनेक अफरहरु उनले लत्याए ।
जेन जी आन्दोलनले १९ जनाको ज्यान जाँदासम्म उनी ७ बुँदे सहमतिमा धोका दिनु हुँदैन भनेर नै रहिरहेका थिए । बरु ओलीलाई सच्चाउनुपर्छ, भएका सहमतिमा धोका दिनुहुँदैन भन्ने मान्यतामा उनी अडिग रहिरहे । जसकाकारण पनि उनी आफ्नै निवासमा निर्घात कुटिदासम्म पनि स्थिर देखिईरहे ।
छ दशक लामो राजनीतिमा देउवा – पाँचपटक प्रधानमन्त्री बने, १० वर्ष पार्टी सभापति रहे, कैयौं आन्दोलन, बहस र असफलताका साक्षी बने । उनले देशमा ल्याएका केही महत्वपूर्ण निर्णय पनि थिए । जसलाई उनले मंगलबार (२८ असोज) को केन्द्रीय समिति बैठकमा स्मरण गरे ।
कमैयाँ मुक्तिको घोषणा कार्यक्रम, छुवाछूत उन्मूलन,भूमिसुधार नीति, महिलाको सम्पत्ति अधिकार, संविधान कार्यान्वयनमा भूमिका आदी÷इत्यादीमा आफुले खेलेको निर्णायक भूमिका उनले सगर्व पार्टीमा प्रस्तुत गरे ।
तर उनको सबैभन्दा ठूलो योगदान भनेको उनले लोकतन्त्रको बाटो कहिल्यै त्यागेनन् । कांग्रेसको हालको अवस्था उनको दीर्घ कार्यकालको अन्त्यसँगै नयाँ दिशामा उन्मुख छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको युवा पुस्ता अब केन्द्रमा छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का तटस्थताको भूमिकामा छन् । तर, देउवाको प्रभाव काँग्रेसको हरेक तहमा अझै पनि बाँच्नेछ ।
अब उनले सल्लाह दिनेछन्, निर्देशन होइन । अब उनी हिँड्ने होइन, देखाउने बाटोका मान्छे बन्न खोजेका छन् । नेताबाट संस्थामा रूपान्तरण- यही हो अभिभावकको अर्थ । राजनीतिशास्त्री कृष्ण खनाल भन्छन्, ‘देउवाले प्रतिस्पर्धा होइन, स्थायित्वबाट शक्ति पाए । उनी नाटकीय होइन, शान्त छन् । तर त्यही शान्तताले नै उनलाई नेपाली राजनीतिमा जीवित राख्यो ।’
वास्तवमै, देउवाको जीवन कहिल्यै ठूलो भाषणले होइन, सानो सहमतिले बनेको हो । उनले सधैं ‘संसद्’ र ‘संविधान’को वरिपरि राजनीति गरे । त्यसैले उनी अझै पनि सबै पक्षसँग कुरा गर्न सक्ने नेता बने । नेपालमा जहाँ प्रायः नेता विभाजन ल्याउँछन्, त्यहाँ देउवाले सन्तुलन ल्याउने परम्परा राखे ।
अब प्रश्न उठ्छ- देउवा पछि काँग्रेसको बाटो कता ? के युवा पुस्ता पुरानो ढाँचा तोड्न सक्षम हुनेछ ? के देउवाको संयमले नयाँ जोशसँग तालमेल पाउनेछ ? यी प्रश्नको उत्तर समयले दिनेछ । तर काँग्रेसको हरेक कोठामा देउवाको अनुहार झल्किरहनेछ - साँघुरो निर्णयका क्षणमा, सहमतिको खोजमा । शान्त स्वरमा भनिने एउटा वाक्यमा ‘धैर्य गरौं, अन्त्य राम्रो हुन्छ ।’
नेपालको राजनीतिक इतिहासमा धेरै नाम आएका र बिर्सिएका छन् । तर देउवाको नाम केवल पदसँग होइन, राजनीतिक संयम र शालीन बिदाइसँग बाँधिनेछ । अब उनी सिंहदरबारको कोठाबाट होइन, आफनो जलेको घरको बगैंचाबाट देश हेरिरहेका हुने होलान्- जहाँ राजनीतिका हल्ला होइन, अनुभवका प्रतिध्वनि सुनिन्छ । उनको जीवनले देखाएको छ- सत्ता पाउनु ठूलो कुरा होइन, सत्ता छोड्न सक्नु ठूलो कुरा हो ।
शेरबहादुर देउवा अब पदमा छैनन्, तर उनले इतिहासमा एउटा अमिट हस्ताक्षर छोडेका छन्- संयम, सहमति र पर्खाईको । राजनीतिले उनलाई कहिले सिंहदरवारको बागडोर सम्हाल्ने मालिक बनायो, कहिले बलिको बाख्रा । तर अन्ततः उनले आफूलाई एक ‘अभिभावक’को हैसियतमा स्थिर पारेर बिदा गरे । राज्य सत्ता मात्र होइन, पार्टी सत्ता पनि नेपालमा खास सत्ता हो ।
जेन जी विद्रोह पछि पनि बालुवाटारबाटै राजीनामा ठोकेर भागेका तत्कालिन प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीले पद नछोड्न अझै गरिरहेको मरिहत्तेका बीच देउवा एउटा सन्देश बनेका छन् । ओलीको अहंका बीच देउवाले भने पार्टीको सत्ता छोडेर इतिहास जितेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार