काठमाडौ । काठमाडौंदेखि डडेल्धुरा टाढै छ, तर नेपाली राजनीतिमा त्यो दूरी कहिल्यै अनुभूत हुँदैन । किनभने सत्ता वा सत्ताको छायाँ, दुवै कतै न कतै शेरबहादुर देउवाको नामसँग जोडिन्छ । तर यसपटक त्यो नाम कुनै शक्तिशाली निर्णयसँग होइन, एउटा शान्त बिदाइसँग जोडिएको छ ।
कहिले तत्कालिन राजा ज्ञानेन्द्रको प्रतिगमन सच्चिएको भन्दै पूनः प्रधानमन्त्री बन्नपुगेका कारण आलोचित, कहिले सत्ताको संयमका कारण प्रशंसित । आफुँले हाँकिरहेको र बलियो पकड बनाईराखेको पार्टी सभापति देउवाले भदौं २३ र २४ को जनेजी विद्रोहपछि आफुै लुटिएर, पिल्सिएर र चुटिएर नेतृत्व हस्तान्तरण गर्ने बाटो सहज लिईदिए । त्यो उही देउवा हुन्, जसले भर्खरै भनेका छन्, ‘अब म पार्टीको अभिभावक मात्रै हुन्छु ।’
त्यो वाक्य बोलेर उनले काँग्रेसको इतिहासमा एउटा ढोका बन्द गरे । र अर्को ढोका खोले, जहाँ देउवा अब ‘नेता’ होइन, ‘अभिभावक’ बनेका छन्।
उनको सबैभन्दा ठूलो योगदान भनेको उनले लोकतन्त्रको बाटो कहिल्यै त्यागेनन् । कांग्रेसको हालको अवस्था उनको दीर्घ कार्यकालको अन्त्यसँगै नयाँ दिशामा उन्मुख छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको युवा पुस्ता अब केन्द्रमा छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का तटस्थताको भूमिकामा छन् । तर, देउवाको प्रभाव काँग्रेसको हरेक तहमा अझै पनि बाँच्नेछ ।
२८ असोजको दिउँसो, पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चलिरहेको थियो । कसैले पनि त्यो दिन देउवाले केही विशेष घोषणा गर्लान् भन्ने अपेक्षा गरेका थिएनन् । बरु उनले भदौं २३ र २४ का घटना र आफु र श्रीमती डा आरजु राणा देउवासम्म पिटिएको घटनाको बारेमा बताएर इमोशनल मन्तब्य दिन सक्ने आम बुझाई थियो । तर, जब उनले हलभित्र स्थिर स्वरमा भने– ‘अब जिम्मेवारी पूर्णबहादुरजीले सम्हाल्नुहुन्छ ।’ हल केही क्षण मौन भयो ।
त्यो मौनता एक प्रकारको श्रद्धा थियो - ती नेता जसले तीन दशकभन्दा बढी समय काँग्रेसलाई सम्हाले, पाँचपटक प्रधानमन्त्री बने, र अब इतिहासको पाना आफैंले पल्टाइदिएका छन् । कसैले त फुसफुसाएर भन्यो, ‘राजनीतिमा यस्तो संयम अब बिरलै भेटिन्छ ।’
२००३ सालको डडेल्धुराको रुवाखोलाको अस्रिगाम गाउँ । माटोको घर, साँघुरा बाटा र राजनीतिबाट टाढा एक संसार । त्यो गाउँका एक केटाले १७ वर्षकै उमेरमा (२०२० सालमा) देश बदल्नुपर्छ भनेर राजनीतिक यात्रा सुरु गरे । त्यो केटा पछि त्रिचन्द्र क्याम्पसमा विधार्थी नेताका रुपमा उदाए । २५ वर्षकै उमेरमा फेरि कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष बने । उनको नाम थियो – शेरबहादुर देउवा ।
त्यो समय कांग्रेसको आन्दोलन भूमिगत थियो, र उनले त्यही भूमिगत आन्दोलनको उज्यालोमा आफ्नै पहिचान लेखे । कैद, यातना, निर्वासन हुँदै उनी पार्टीको मुख्य धारमा आए । त्यो शान्त स्वभावका, धैर्यवान् र विचारशील नेताले कहिले बिस्तारै, कहिले अचानक, सिंहदरबारको ढोका पाँचपटक खोले ।
शेरबहादुर देउवा नेपाली राजनीतिका ‘संघर्ष र स्थायित्व’ दुवैका प्रतीक हुन् । संसद् विघटनदेखि पार्टी विभाजन, माओवादी युद्धविरामदेखि संविधानसम्म, उनले राजनीति सम्भावनाको सन्तुलनमा चलाए । तर आलोचना पनि त्यत्तिकै साथ रह्यो - कसैले उनलाई ‘कमजोर निर्णयकर्ता’ भने, कसैले ‘राजनीतिक भद्र मान्छे’ । तर इतिहासले सधैं भन्छ - देउवा न त निर्णायक भाषणका लागि प्रसिद्ध थिए, न जनभावनाको लहरका लागि; उनी त संयमका लागि परिचित रहे । उनले कहिल्यै हल्ला गरेनन्, तर देशका निर्णायक मोडमा उनी सधैं उपस्थित रहे ।
२०८२ भदौं २३ र २४ को जेन–जी पुस्ताको आन्दोलनले नेपाली राजनीतिलाई झस्कायो । राजनीतिबाट करिव हराउन चाहेका युवाहरू राजनीतिक चेतसहित सडकमा आए । पुराना नेताहरू आलोचनाको केन्द्रमा परे । त्यो आन्दोलनको हावा कांग्रेस, एमाले, माओवादीका हेडक्वार्टरसम्मै पुगे । पार्टी कार्यालयहरुमा पुगे । प्रधानमन्त्री देखि राष्ट्रपतिका निवाससम्म पनि पुग्यो । क्षणभरमा संसद भवन, सिंहदरवार देखि सर्वाेच्च अदालतसम्म जल्न थाल्यो । आफ्नै निवासमा रहेका देउवा दम्पनी निर्घात कुटिने अवस्थासम्म निम्तियो । लामो कठिन अवस्थाबाट आफ्नै निवासबाट उनीहरुलाई उद्दार गर्नुपर्ने अवस्था आयो । त्यही समयमा देउवाले अनुभूति गरे- अब समय नयाँ पुस्ताको हो । जनता सम्हाल्न नसक्ने गरी आक्रोशित भएका देखे । त्यसपछि उनले ‘पार्टीको जिम्मेवारी’ कुनै नेतालाई हस्तान्तरण गरेर सम्मानजनक बर्हिगमनको बाटो खोजे ।
अन्ततः पार्टीको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रुपमा हस्तान्तरण गरे । त्यो केवल पद हस्तान्तरण थिएन, त्यो समय हस्तान्तरण थियो- पुरानो पुस्ताबाट नयाँ पुस्तातर्फ । हुन त समय र उमेरका हिसावले पूर्णवहादुर पनि नयाँ पुस्ताका नेता होइनन्, तर पनि कांग्रेसमा नेतृत्व हस्तान्तरण नयाँ पुस्तामा सरेको थियो । जब देउवाले मञ्चमा हाँसेर भने, ‘घरमा सधैं एउटै मूली रहँदैन ।’ त्यो वाक्य इतिहास बन्यो। त्यो केवल राजनीतिक शैली होइन, सत्ता छोड्ने संस्कार थियो - जो नेपालको राजनीतिमा विरलै देखिन्छ ।
पत्नी डा. आरजु राणा देउवाको पदीय महत्वांकाक्षा, विवादित छविलाई छोडेर हेर्ने हो भने देउवा नेपालको राजनीतिमा दलहरु वीच हुने सहमतिमा इमानमा रहनुपर्छ भन्ने मान्यताका प्रतिक पनि हुन् । उनले एमाले कांग्रेसको सरकारमा सहमतिमा अडिरहे । पार्टीभित्र एमालेसँगको सहकार्य तोडन निक्कै दवाव आए । पखाईको प्रधानमन्त्री भन्दा तत्काल प्रधानमन्त्री बन्ने अफरहरु पनि आए । तर उनी एमालेसँग भएको ७ बुदे सहमतिको चटटानी अडानमा अडिरहे । राजनीतिमा धोकाधडी गर्नु हुँदैन, सहमतिको पालना गर्नुपर्छ भन्ने उनमा चेत थियो । त्यही भएर उनलाई आएका अनेक अफरहरु उनले लत्याए ।
जेन जी आन्दोलनले १९ जनाको ज्यान जाँदासम्म उनी ७ बुँदे सहमतिमा धोका दिनु हुँदैन भनेर नै रहिरहेका थिए । बरु ओलीलाई सच्चाउनुपर्छ, भएका सहमतिमा धोका दिनुहुँदैन भन्ने मान्यतामा उनी अडिग रहिरहे । जसकाकारण पनि उनी आफ्नै निवासमा निर्घात कुटिदासम्म पनि स्थिर देखिईरहे ।
छ दशक लामो राजनीतिमा देउवा – पाँचपटक प्रधानमन्त्री बने, १० वर्ष पार्टी सभापति रहे, कैयौं आन्दोलन, बहस र असफलताका साक्षी बने । उनले देशमा ल्याएका केही महत्वपूर्ण निर्णय पनि थिए । जसलाई उनले मंगलबार (२८ असोज) को केन्द्रीय समिति बैठकमा स्मरण गरे ।
कमैयाँ मुक्तिको घोषणा कार्यक्रम, छुवाछूत उन्मूलन,भूमिसुधार नीति, महिलाको सम्पत्ति अधिकार, संविधान कार्यान्वयनमा भूमिका आदी÷इत्यादीमा आफुले खेलेको निर्णायक भूमिका उनले सगर्व पार्टीमा प्रस्तुत गरे ।
तर उनको सबैभन्दा ठूलो योगदान भनेको उनले लोकतन्त्रको बाटो कहिल्यै त्यागेनन् । कांग्रेसको हालको अवस्था उनको दीर्घ कार्यकालको अन्त्यसँगै नयाँ दिशामा उन्मुख छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको युवा पुस्ता अब केन्द्रमा छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का तटस्थताको भूमिकामा छन् । तर, देउवाको प्रभाव काँग्रेसको हरेक तहमा अझै पनि बाँच्नेछ ।
अब उनले सल्लाह दिनेछन्, निर्देशन होइन । अब उनी हिँड्ने होइन, देखाउने बाटोका मान्छे बन्न खोजेका छन् । नेताबाट संस्थामा रूपान्तरण- यही हो अभिभावकको अर्थ । राजनीतिशास्त्री कृष्ण खनाल भन्छन्, ‘देउवाले प्रतिस्पर्धा होइन, स्थायित्वबाट शक्ति पाए । उनी नाटकीय होइन, शान्त छन् । तर त्यही शान्तताले नै उनलाई नेपाली राजनीतिमा जीवित राख्यो ।’
वास्तवमै, देउवाको जीवन कहिल्यै ठूलो भाषणले होइन, सानो सहमतिले बनेको हो । उनले सधैं ‘संसद्’ र ‘संविधान’को वरिपरि राजनीति गरे । त्यसैले उनी अझै पनि सबै पक्षसँग कुरा गर्न सक्ने नेता बने । नेपालमा जहाँ प्रायः नेता विभाजन ल्याउँछन्, त्यहाँ देउवाले सन्तुलन ल्याउने परम्परा राखे ।
अब प्रश्न उठ्छ- देउवा पछि काँग्रेसको बाटो कता ? के युवा पुस्ता पुरानो ढाँचा तोड्न सक्षम हुनेछ ? के देउवाको संयमले नयाँ जोशसँग तालमेल पाउनेछ ? यी प्रश्नको उत्तर समयले दिनेछ । तर काँग्रेसको हरेक कोठामा देउवाको अनुहार झल्किरहनेछ - साँघुरो निर्णयका क्षणमा, सहमतिको खोजमा । शान्त स्वरमा भनिने एउटा वाक्यमा ‘धैर्य गरौं, अन्त्य राम्रो हुन्छ ।’
नेपालको राजनीतिक इतिहासमा धेरै नाम आएका र बिर्सिएका छन् । तर देउवाको नाम केवल पदसँग होइन, राजनीतिक संयम र शालीन बिदाइसँग बाँधिनेछ । अब उनी सिंहदरबारको कोठाबाट होइन, आफनो जलेको घरको बगैंचाबाट देश हेरिरहेका हुने होलान्- जहाँ राजनीतिका हल्ला होइन, अनुभवका प्रतिध्वनि सुनिन्छ । उनको जीवनले देखाएको छ- सत्ता पाउनु ठूलो कुरा होइन, सत्ता छोड्न सक्नु ठूलो कुरा हो ।
शेरबहादुर देउवा अब पदमा छैनन्, तर उनले इतिहासमा एउटा अमिट हस्ताक्षर छोडेका छन्- संयम, सहमति र पर्खाईको । राजनीतिले उनलाई कहिले सिंहदरवारको बागडोर सम्हाल्ने मालिक बनायो, कहिले बलिको बाख्रा । तर अन्ततः उनले आफूलाई एक ‘अभिभावक’को हैसियतमा स्थिर पारेर बिदा गरे । राज्य सत्ता मात्र होइन, पार्टी सत्ता पनि नेपालमा खास सत्ता हो ।
जेन जी विद्रोह पछि पनि बालुवाटारबाटै राजीनामा ठोकेर भागेका तत्कालिन प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीले पद नछोड्न अझै गरिरहेको मरिहत्तेका बीच देउवा एउटा सन्देश बनेका छन् । ओलीको अहंका बीच देउवाले भने पार्टीको सत्ता छोडेर इतिहास जितेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ जेनजी आन्दोलनपछि पहिलो पटक देउवाको सम्बोधन (पूर्णपाठ)
जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए देउवा
देउवाको शुभकामना सन्देश : राजनीतिक निकास यही संविधानभित्रबाट खोज्न सकिन्छ
प्रधानमन्त्रीसँग छलफल गरेर निकास खोज्ने गगन-विश्वसँग देउवाको प्रतिबद्धता
बालेनले गरे देउवाको फेसबुक पोस्टमा कमेन्ट - सारै गारो हुने रहेछ भीपीएनबाट चलाउन त !!’
पार्टीको आदेश मानेर कर्मचारीले काम गर्नु हुँदैन : देउवा