आन्दोलनमा उत्रिए पेरुका जेनजी

एजेन्सी

सोमबार, १३ असोज २०८२, १४ : ३८
आन्दोलनमा उत्रिए पेरुका जेनजी

काठमाडौँ। दक्षिण अमेरिकी मुलुक पेरुका जेनजी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका छन्। सेप्टेम्बर २७ मा राजधानी लिमामा हजारौँ युवाले राष्ट्रपति दीना बोलुआर्तेविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्जसँगै अश्रुग्याँस पनि प्रहार गरेको छ । जवाफमा युवाहरूले ढुंगा प्रहार गरेका छन् । कतिपय युवाले लाठीचार्जको विरोधमा आगजनी गरेका छन् ।

आन्दोलन सेप्टेम्बर २० मा पेन्सन प्रणालीमा गरिएका परिवर्तनपछि सुरु भएको हो। नयाँ नियमअनुसार, पेरुमा १८ वर्ष पूरा गरेका हरेक व्यक्तिले कुनै न कुनै पेन्सन कम्पनीरसंस्थासँग जोडिनुपर्ने हुन्छ। यसबाहेक, राष्ट्रपति बोलुआर्ते र संसदविरुद्ध लामो समयदेखि जनअसन्तोष बढिरहेको छ।

जेनजीले यस आन्दोलनका लागि जापानी एनिमे वन पिसको क्यारेक्टर ‘लूफी’लाई आफ्नो आदर्श बनाएका छन्। यो क्यारेक्टर न्यायका लागि लड्ने पात्र हो ।

यहाँ, भ्रष्टाचार, आर्थिक असुरक्षा, बढ्दो अपराध र जबाफदेहीको कमीले युवाहरूलाई क्रोधित बनाएको छ।

२०२२ मा पूर्व राष्ट्रपति पेद्रो कास्तिलोलाई पदच्युत गरी गिरफ्तार गरिएपछि सुरक्षाबलको कारबाहीमा दर्जनौं प्रदर्शनकारी मारिएका थिए। यसबारे सरकारलाई अझै प्रश्न गरिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस