संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, १२ असोज २०८२, १२ : ४४
संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारबाहीको विवरण सार्वजनिक गरेको छ । हालै सार्वजनिक गरेको विवरणमा १२ वटा बुँदामा अधिवेशनका गतिविधि समेटिएका छन् ।

प्रतिनिधि सभाको छैटौँ अधिवेशन २०८२ साल वैशाख १२ गते शुक्रबार प्रारम्भ भई २०८२ साल भदौ २७ गते शुक्रबारसम्म रह्यो । यस अवधिमा १४१ दिन अधिवेशन चालु रह्यो । जसमध्ये ५९ दिनमा ६१ पटक बैठक बसेका थिए ।

यही भदौ २३ र २४ गते जेन जेडको प्रदर्शन भएको थियो । प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राजीनामा दिए । प्रतिनिधि सभाबाट अर्को सरकार बन्ने अवस्था बनेन । पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेका छन् ।

यो सन्दर्भमा संसद् सचिवालयले प्रतिनिधि सभाको कामकारवाहीको विवरण सार्वजनिक गरेको हो ।

वर्षे अधिवेशन समेत लिइने छैटौँ अधिवेशनले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्‍यो । बजेट आश्रित विधेयकहरू पनि पारित गर्‍यो ।

प्रतिक्रिया दिनुहोस