काभ्रे– २०८१ साल असोजको विपदमा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ ।
जिल्लाका १३ स्थानीय तहका तीन हजार १२८ पीडितहरूलाई पहिलो किस्ताबापत सात करोड ७९ लाख २५ हजार राहत उपलब्ध गराइएको हो ।
दोस्रो किस्ताका लागि कार्यालयको खातामा निकासा भएको करिब चार करोड भने अधिकांश स्थानीय तहले माग नगर्दा थन्किएको अवस्थामा रहेको छ । दुई तहले मात्रै दोस्रो किस्ताको रकम कार्यालयसँग माग गरी पीडितलाई वितरण गरेको जनाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार हालसम्म बेथानचोक र रोशी गाउँपालिकाले दोस्रो किस्तावापतको रकम लगेका हुन् ।
सरकारले पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार गरी प्रतिघरपरिवार अस्थायी आवास निर्माणार्थ ५० हजार उपलब्ध गराउने गरी कार्यविधि तयार गरेको थियो ।
कार्यालयका अनुसार दोस्रो किस्ताको रकम बेथान्चोकले १९६ र रोशी गाउँपालिकाले ४६१ र घरपरिवारलाई एक करोड ६४ लाख २५ हजार उपलब्ध गराइएको हो ।
पहिलो किस्ताबापतको अनुदान पाउनेमा धुलिखेल नगरमा ९०, बनेपामा ४१, पनौतीमा ६३४, पाँचखालमा, ८८, मण्डनदेउपुरमा १३३, नमोबुद्धमा ८८४ परिवार रहेका छन् । यस्तै चौँरीदेउराली गाउँपालिकामा २८०, खानीखोलामा ५३, रोशीमा ५४८, भुम्लुमा ४०, तेमालका १४१, बेथानचोकमा २३९ र र खानीखोलामा ५३ पीडित परिवार रहेका छन् ।
यसैबीच २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलन (डीडीए) भइरहेको छ । क्षति आँकलन सुरु गरिएको करिब ६ महिनाको अवधिमा रोशी गाउँपालिकाको मात्रै डीडीए सकिएको जनाइएको छ । घटनाको एक वर्ष बितिसक्दा पनि विविध कारण क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्य अलपत्र अवस्थामा रहेको हो । तर, हालसम्म पनि बाढीपहिरोबाट क्षति भएका निजी आवासको पूर्ण विवरण प्राप्त नहुँदा सरकारले निजी आवास पुनर्निर्माण कार्य अलपत्र अघि बढाउन नसकेको जनाइएको छ ।
गत चैत अन्तिम साता जिल्लामा सबैभन्दा बढी जनधनको क्षति व्यहोरेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आँकलन सुरु गरिएको थियो । तत्कालीन गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका– २ नारायणटारबाट यसको सुरुवात गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असोज २०८२, १० : ३४
लेखकबाट थप