नवरात्रको आज पाँचौ दिन : देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै

सफल खबर संवाददाता

शनिबार, ११ असोज २०८२, ०७ : १३
नवरात्रको आज पाँचौ दिन : देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै

काठमाडौ । पहाडमा बसेर संसारमा रहेका जीवहरूमा नवचेतना प्रदान गर्ने देवीको रूपमा स्कंदमातालाई आश्विन शुक्ल पञ्चमी अर्थात आजकै दिन पूजा तथा आराधना गरिन्छ । कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको हो ।

यी देवीको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले रहनुहुन्छ । कमल ओछ्याएर बस्ने भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ । स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह फल प्राप्त हुन्छ । यस्तो विशेषता केवल यिनीलाई मात्र प्राप्त छ ।

सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने देवी भागवत पुराणमा उल्लेख गरिएको छ । स्कन्दमाता स्वरूपिणी देवीका चार हातहरू छन् ।

दाहिनेतर्फको माथिल्लो भुजाले भगवान् स्कन्दलाई काखमा सम्हालेकी छिन् तथा तल्लो भुजा जुन मास्तिर उठेको छ, त्यसमा कमल पुष्प सुशोभित छ । देब्रेतर्फको माथिल्लो भुजा वर मुद्रामा तथा तल्लो भुजामा कमल पुष्प सुशोभित छ । सिंह यिनको वाहन हो ।

तारकासुरले कठोर तपस्या गरी ब्रम्हाजीसँग शिवजीका पुत्रको हातबाट मृत्युको वर प्राप्त गरेको थियो । वरदान पाएपछि तारकाशुरको कारणले तिनै लोक त्रशित थियो । तारकाशुरले स्वर्गबाट सबै देवताहरुलाई भगाएर राज गर्न थाल्यो ।

उता सतिदेवीको मृत्यु पश्चात भगवान् शिवजी ध्यान मग्न रहन थाल्नुभयो । सतीदेवीले पुनः पार्वतीको रूपमा हिमालय पर्वतमा जन्म लिएपछि पनि शिवजीले योग तथा साधना त्याग गर्नुभएन । पार्वतीले ब्रह्मचारिणीको रूप धारण गरी शिवजी स्वामी पाउँ भनि कठोर तपस्या गर्नुभयो ।

माता पार्वतीको कठोर साधनाको फलस्वरुप शिवजीले आफ्नो योग तथा साधना त्याग गरी पार्वतीसँग विवाह गर्नुभयो । श्री महादेव र पार्वतीको सन्तान स्वरुप कुमार कार्तिकेयको जन्म भयो र पछि कार्तिकेयले तारकाशुरलाई बध गरेको शास्त्रमा उल्लेख गरिएको छ ।

यिनको उपासनाले भक्तको सबै ईन्छा पुरा भई मोक्ष प्राप्ति हुन्छ । अतः : मनलाई एकाग्र एवं पवित्र राखी ॐ देवी स्कन्दमातायै नमःमन्त्रको उच्चारण गरी देवीको आराधना गर्ने भक्तलाई भवसागर पार गर्दा पनि कठिनाइ आउँदैन भनी शास्त्रमा लेखिएको छ । स्कन्दमाताको पूजा गर्नाले धार्मिक आस्था मात्र नभई मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र सामाजिक मूल्य मान्यतासँग निरन्तर सङ्घर्ष गर्न आत्मबल प्राप्त हुन्छ भनी शास्त्रमा वर्णन गरिएको छ ।