मस्को । रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय सङ्कट अन्त्य गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् असफल भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ । उसले यो असफलताको मुख्य कारण संयुक्त राज्य अमेरिकाले पटक–पटक प्रयोग गर्दै आएको भीटो अधिकार भएको स्पष्ट पारेको छ ।
रुसको परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ,“गाजा क्षेत्रमा जारी युद्ध, रक्तपात र सर्वसाधारण जनताको पीडा अन्त्य गर्न सुरक्षा परिषद्ले अहिलेसम्म कुनै ठोस निर्णय लिन नसक्नु अत्यन्तै दुःखद र निराशाजनक विषय हो ।”
बिहीबार, सुरक्षा परिषद्का केही अस्थायी सदस्य राष्ट्रहरूले गाजामा युद्धविराम कायम गर्न, बन्धकहरूको सुरक्षित रिहाइ र मानवीय सहायता सहज रूपमा प्रवेश गराउन प्रस्ताव पेश गरेका थिए । सबै सदस्य राष्ट्रले सो प्रस्तावको समर्थन गरे तापनि, संयुक्त राज्य अमेरिकाले सातौँ पटक त्यसमा भीटो प्रयोग गरी पारित हुनबाट रोक लगायो ।
रुसले आफ्नो धारणा दोहोर्याउँदै भन्यो कि उसले इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे सधैँ स्पष्ट र सन्तुलित अडान लिएको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा गरिएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै पनि रुसले उल्लेख गर्यो,“उक्त घटना कुनै पनि हालतमा सम्पूर्ण प्यालेस्टिनी जनतालाई सामूहिक रूपमा दण्ड दिने बहाना बन्नु हुँदैन, न त यसलाई प्रयोग गरेर मध्यपूर्वमा झन् ठूलो युद्ध फैलाउनु उपयुक्त ठहरिन्छ ।”
रुसले जोड दिँदै स्थायी शान्ति र सुरक्षा हासिल गर्न प्यालेस्टिनी जनताको वैध अधिकार र आकांक्षाहरूको सम्मान अनिवार्य रहेको जनाएको छ । जबसम्म यो प्रश्नको न्यायसङ्गत समाधान गरिँदैन, तबसम्म क्षेत्रीय स्थायित्व सम्भव छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०४ असोज २०८२, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण
रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण
ट्रम्पलाई रुसको जवाफ- सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं