काठमाडौं । देशको राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली सधैं विवाद, उत्तेजना र विरोधाभासको पात्र बनेर उदाएका छन् । भाषणको उचाइमा उनले आफैंलाई राष्ट्रवादी, स्वाभिमानी र स्वदेशहितका अडानमा उभिएको देखाउने गरेका छन् ।
तर, उनको राजनीतिक यात्रा केलाउँदा बारम्बार देखिने एउटा विशेषता छ—अप्ठ्यारोमा परेपछि राष्ट्रवादको कार्ड फ्याक्ने, तर भित्री व्यवहारमा विदेशी शक्तिहरूसँग हिमचिम बढाउने । यही शैलीलाई अहिले जनताले ‘ओलीटिक्स’ भनेर बुझ्न थालेका छन् ।
जेन–जी आन्दोलनमा नृशंस दमनपछि सत्ताच्यूत भएका ओली करिब १० दिन चुप लागेर बसे । त्यसपछि उनी फेरि मुर्छाउन खोजे । उनी आफूमाथि लागेको प्रश्नहरूको जवाफ दिनभन्दा पनि राष्ट्रवादको खोक्रो नारामा आश्रित भएर बोल्न खोजेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘देशी–विदेशी मिलेर सरकार ढालियो’ भन्ने दाबी गरे, भीम मल्लको प्रसंग उप्काए, चुच्चे नक्सा सम्झिए । तर यी सबै प्रसंगले आज उनको वास्तविक चरित्र ढाक्न सक्ने नदेखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
ओलीलाई नजिकबाट बुझेका र चिनेका नेताहरू भन्छन्, ‘उनको बोलीमा राष्ट्रवाद हुन्छ, तर व्यवहारमा भारतसँगको निर्भरता अनि गुप्त सम्झदारी हुन्छ ।’ यही विरोधाभासका कारण उनको राष्ट्रवाद खोक्रो र नक्कली सावित हुँदै आएको छ । यसलाई प्रस्ट पार्ने उनका थुप्रै प्रसंग छन् ।
प्रसंग १ : भारतीय गुप्तचर प्रमुखसँग भेट – राष्ट्रवादको आवरण च्यातिएको क्षण
२०६९ वैशाखको एउटा साँझ । काठमाडौंको एभरेस्ट होटलमा एमाले नेता ओली भारतीय गुप्तचर संस्था रअ का प्रमुखसँग भेटिरहेका थिए । पत्रकार सुधीर शर्मा र विजयकुमार पाण्डे आकस्मिक रूपमा त्यही कक्षमा पुगेका थिए । उनीहरूले देखे- भारतीय दूतावासका मिनिस्टर पिटर हनामानसँगै आएका एक अपरिचित ‘शर्मा’ नाम गरेका व्यक्तिलाई ओलीले विशेष सत्कार गर्दै थिए । पछि थाहा भयो, ती साधारण ‘शर्मा’ वास्तवमा भारतको बाह्य गुप्तचर संस्था रअका चिफ संजीव त्रिपाठी थिए ।
त्यो समय संविधानसभा भंग हुने अवस्थामा थियो । भारत खुलेरै पहिचान–आधारित संघीयताको पक्षमा थियो । त्यसका विपक्षमा उभिएका ओली जस्ता नेतामाथि जबरजस्ती दबाब सिर्जना भइरहेको थियो । ओली, जसले सार्वजनिक रूपमा भारतविरुद्ध राष्ट्रवादको नारा चर्काउँथे, भित्री ढोकाबाट भने भारतीय गुप्तचर प्रमुखसँग साँघुरो कक्षमा छलफल गरिरहेका थिए । यो घटनाले ओलीको दोहोरो खेल उजागर गर्यो- बाहिर राष्ट्रवाद, भित्र आत्मसमर्पण । (पत्रकार सुधिर शर्माको पुस्तक प्रयोगशालामा उनको यो छविको चरित्र चित्रण उल्लेख छ ।)
प्रसंग २ : चुच्चे नक्साको वास्तविकता
२०७७ जेठ २ गते । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने दिन । ओली त्यसबेलाको शक्तिशाली नेकपा (माओवादी र एमाले मिलेर बनेको पार्टी) का अध्यक्ष र प्रधानमन्त्री थिए । उनले प्रचण्डसँग दुई अध्यक्षात्मक प्रणालीमा नेकपा प्रचण्डसँगै मिलेर सहकार्यमा हाँकिरहेका थिए । प्रधानमन्त्रीको कुर्शीमा ओली थिए । ओलीले नीति तथा कार्यक्रमका बारेमा आफ्नो पार्टीमा छलफल चलाएका थिएनन । छलफलविनै नीति कार्यक्रम प्रस्तुत गर्दा पार्टीभित्र दवाव थेग्न नसक्ने देखेपछि सोही दिन विहान नेकपाको सचिवालय बैठक बोलाइयो ।
सचिवालय बैठकमा अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले दबाब नदिएको भए, नीति कार्यक्रममा ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी’ समेटिने कुरा नै थिएन । ओलीले मुख्यसचिवमार्फत तयार पारेको नीति तथा कार्यक्रममा चुच्चे नक्साको विषय उल्लेख थिएन ।
तर पार्टी सचिवालयको तीव्र दबाबपछि मात्र उनले त्यही बैठकाबटै मुख्यसचिवलाई फोन गरेर अन्तिम क्षणमा उक्त बुँदा थप्न लगाए । राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा यो अन्तिम बुँदा बनेर आयो– ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिनेछ । तदनुरुप नै छुटेको भूमिसमेत समावेश गरि नेपालको नक्सा जारी गरिनेछ । ’
तर, त्यसपछि ओलीले यो मुद्दालाई आफ्नो ‘व्यक्तिगत राष्ट्रवादी उपलब्धि’ का रूपमा प्रस्तुत गर्न थाले । अनुयायीहरूले पनि उनलाई देवत्वकरण गरे । तर वामदेव गौतम लगायत सचिवालयका सदस्यले सार्वजनिक रूपमा स्पष्ट पारे-‘यो सामूहिक निर्णय थियो, व्यक्तिगत होइन ।’ त्यसपछि पाठ्यपुस्तकमा चुच्चे नक्सा राखिएको थियो । तर, ओलीले नै चुच्चे नक्सासहित छापिएको पाठ्यपुस्तक वितरण रोक्ने आदेश दिए । राष्ट्रवादको नारालाई भित्री निर्णयले धोका दिएको यो अर्को प्रमाण हो ।
प्रसंग ३ : भारतीय गुप्तचर सामन्त गोयलसँग बालुवाटारमै गोप्य भेट
चुच्चे नक्सा जारी भएपछि नेपाल–भारत सम्बन्ध तिक्त भयो । बाहिर ओली चर्काे राष्ट्रवादी देखिन्थे । तर, भित्री रूपमा उनले तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र अन्नपूर्ण मिडिया ग्रुपका मालिक क्याप्टेन रामेश्वर थापालाई दूत बनाएर दिल्ली पठाए ।
त्यही प्रयत्नको परिणामस्वरूप २०७७ कात्तिक ५ मा भारतीय गुप्तचर प्रमुख सामन्त गोयल काठमाडौं आए । अन्नपूर्ण मिडिया गुप्रका अध्यक्ष क्याप्टेन थापाले नै एयरपोर्टबाट उनलाई स्वागत गरे, उनकै गाडीमा राखेर हायत होटलमा पु¥याए । त्यही लन्च र बेलुकी डिनर गरेपछि राति क्याप्टेन थापाले उनलाई बालुवाटार पु¥याए । त्यहाँ ओलीले परराष्ट्र मन्त्रालयका अधिकारी नै नराखी तीन घण्टा गोप्य वार्ता गरे । आजसम्म त्यसबेला भएको छलफल गोप्य नै छ । बालुवाटारमा गोप्य राख्न खोज्दा खोज्दै सार्वजनिक भएको यो तथ्यले ओलीको राष्ट्रवादको आवरण फेरि च्यातियो । किनकि, जोसुकैलाई आलोचना गर्दै ‘भारतविरोधी’ बनेका उनी, भित्र भने दिल्लीसँगै सम्बन्ध सुधार्न आतुर थिए ।
प्रसंग ४ : भारतीय टेलिभिजन जी-न्यूजलाई प्रायोजित अन्तर्वार्ता
भारतीय मिडियाले नेपालका प्रधानमन्त्रीलाई ‘ओलीकी इश्कियाँ’ भनेर खिल्ली उडाइरहेको बेला ओलीले उही टेलिभिजनका विवादास्पद पत्रकार सुधीर चौधरीलाई बालुवाटारमै निम्त्याएर अन्तर्वार्ता दिए । सार्वजनिक रूपमा जी-न्यूज नेपालविरोधी गतिविधिका कारण आलोचित भइरहेको थियो । नेपाल सरकारले नै सो च्यानल प्रतिबन्ध लगाएको थियो । तर, ओलीले त्यसैका प्रधानसम्पादकलाई बोलाएर आफूलाई राष्ट्रवादी देखाउने अभिनय गरे ।
उनलाई नेपाल ल्याउने, ओलीसँग अन्तवार्ता गराउनेकाममा पनि ओलीका नजिकका ब्यापारी क्याप्टेन थापानै सक्रिय भएर लागेका थिए । ओलीसँगको अन्तवार्तापछि चौधरीलाई हेलिकप्टरमार्फत सगरमाथा आधारशिविर पुर्याइएको थियो। त्यहाँबाट उनले भारतले सगरमाथामाथि दाबी गर्नुपर्ने अभियान सुरु गरे । यसले ओलीको राष्ट्रवादलाई ‘नाटक’ बाहेक अरू केही नभएको प्रमाणित गरिदियो ।
प्रसंग ५ : भारत भ्रमणको लागि मरिहत्ते
कांग्रेससँगको सहकार्यमा ओली पछिल्लो समय प्रधानमन्त्री बनेका थिए । त्यसबेला कांग्रेस र एमालेको गठबन्धन बनाउन उनै ब्यापारी क्याप्टेन रामेश्वर थापाको निवासमा सम्झौता भएको थियो । पछिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले भारतसँग सम्बन्ध सुधार्न बारम्बार दूत पठाए । कहिले परराष्टमन्त्री आरजु राणा देउवालाई दिल्ली पठाएर निम्तो माग्न लगाए, कहिले प्रदीप ज्ञवालीलाई ।
तर भारतले उनीमाथि विश्वास गरेन । उनको बोली–व्यवहार फरक हुने र अवसरवादी नेताको रुपमा मूल्यांकन गर्यो । अन्ततः उनी भारत जान पाएनन् । चीनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्राथमिकता दिन थालेपछि मात्र दिल्लीले निम्तो दिन लागेको थियो । तर जेन–जी आन्दोलनले भारत जाने उनको सपनामा व्रेक लगाईदियो । उनी सत्ताच्यूत भए ।
प्रसंग ६ : फेरि राष्ट्रवादी कार्ड
सत्ताच्युत भएपछि ओलीले फेरि राष्ट्रवादलाई जीवनरेखा बनाउन खोजेका छन् । उनले भीम मल्लको प्रसंग निकालेर चुच्चे नक्सा सम्झिए, गोली चलाउने आदेश आफूले नदिएको दाबी गरे । उनको सामाजिक सन्जलमार्फत सार्वजनिक भएको भनाइ थियो-‘नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो, संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका थियौं, उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं, हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौं, हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं, अर्थतन्त्र तंग्रदै थियो ।’
तर वास्तविकता भने फरक छ । जनताले देखिसकेका छन् - ओलीको राष्ट्रवाद संकट टार्ने औजार मात्र हो, नीतिगत दृढता होइन । यी सबै प्रसंगहरूले एउटै कुरा पुष्टि गर्छन् - ओलीको राष्ट्रवाद खोक्रो छ । उनी कथनीमा राष्ट्रवादी, तर करनीमा आत्मसमर्पणवादी हुन् । संकटमा परेपछि राष्ट्रवादको नारा भजाउने, तर सामान्य अवस्थामा विदेशी शक्तिसँग सौदा गर्ने । यही विरोधाभास उनको राजनीतिक चरित्रको केन्द्रबिन्दु हो ।
राजनीतिक विश्लेषकहरूको भनाइमा, ओलीको नेतृत्वमा नेपालले कुनै ठोस राष्ट्रवादी नीति देखेन । बरु उनले राष्ट्रवादलाई आफ्नो व्यक्तिगत राजनीतिक अस्तित्व जोगाउने आवरण बनाइरहे । जेन–जी आन्दोलनले ओलीको यो चरित्र अझ स्पष्ट पारिदिएको छ । जनताले गोली खानु परेको, आन्दोलनकारीमाथि दमन भएको बेला ओलीले राष्ट्रवादको खोक्रो स्वरूप देखाए । आज फेरि त्यही कार्ड फ्याँकेर राजनीतिक पुनर्जीवन खोजिरहेका छन् । तर, जनताले उनको नक्कली राष्ट्रवाद बुझिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असोज २०८२, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेडको प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध जाहेरी
विद्या भण्डारीको पक्षमा खुल्न चाहनेहरूलाई रोक्न केपी ओलीले बनाए यस्तो रणनीति
एमालेको अस्तित्व मेटाउन खोज्नेहरू असफल भइसके : केपी ओली
पार्टीभित्रै एक्लिदै ओली !
भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण
प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण भएपछि केही दिन आराम गर्न चिकित्सकको सुझाव