काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नवयुवा र युवाहरूमा रहेको जाँगर, ऊर्जा, सृजनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा जोड दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताएकी छन् ।
संविधान दिवसको अवसरमा आज शुभकामना दिँदै पूर्व राष्ट्रपति भण्डारीले नेपाली जनताको लामो संघर्ष र बलिदान फलस्वरूप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरुप संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको उल्लेख छ ।
यस अवसरमा पूर्व राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन् । साथै गत भदौ २३ गते नयाँ पुस्ताका युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापनाको माग राखेर गरेको प्रदर्शनका क्रममा अमूल्य जीवन गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।
“अब देश हाँक्ने जिम्मेवारी नवयुवा र युवा पुस्तासँग रहेको छ । युवाहरूमा रहेको जाँगर, ऊर्जा, सृजनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा लगाउनु अहिलेको आवश्यकता हो । युवाहरूको माग, दबाब र स्वाभाविक आक्रोशलाई सकारात्मक रूपमा ग्रहण गरी स्वयं युवा, देश र जनताको हितमा सदुपयोग गर्न सक्नु सबैको दायित्व हो”, पूर्व राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीन भ्रमणमा जाँदै पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको दुई घण्टा लामो वार्ता
पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली चपलीमा