भारत-चीनले हेपाहा प्रवृत्ति देखाए, सम्झौता अस्वीकार्य: नेसपा नयाँ शक्ति

सफल खबर संवाददाता

शुक्रबार, ०६ भदौ २०८२, १२ : ३७
भारत-चीनले हेपाहा प्रवृत्ति देखाए, सम्झौता अस्वीकार्य: नेसपा नयाँ शक्ति

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले भारत र चीनबीच नेपालको पूर्वसहमति र परामर्श बिना लिपुलेक नाकालाई दुई देशबीचको व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने भनी गरिएको सम्झौताप्रति आपत्ति जनाएको छ।

नेसपा (नयाँ शक्ति) प्रवक्ता कृष्ण शर्माले विज्ञप्ति जारी गर्दै सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेइजिङमा भएको सहमतिबाटै लिपुलेकलाई भारत-चीन व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने प्रयास भएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘जसको तत्कालीन समयमा नेपाल सरकारले कूटनीतिक असहमति प्रकट गर्दै दुवै मुलुकलाई सच्याउन औपचारिक नोट पठाएको थियो। तर दुःखको कुरा, नेपालको यस विषयमा स्पष्ट आपत्ति हुँदाहुँदै पनि भारत र चीनले पुनः त्यही गल्ती दोहोर्‍याउनु, नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति गम्भीर उपेक्षा र अपमान हो।’

यो सम्झौतालाई अस्वीकार गर्दै यसलाई छिमेकी मुलुकहरूको हेपाहा प्रवृत्तिको प्रतिबिम्बका रूपमा हेरेको बताए।विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको कूटनीतिक सक्रियता र दृढतामा देखिएको कमजोरीले पनि सीमा र राष्ट्रिय हितको संवेदनशील प्रश्नलाई अझ जटिल बनाएको हाम्रो ठहर छ। हाम्रो पार्टी यस मामलामा जोड दिन चाहन्छ कि, सीमा विवाद तथा संवेदनशील कूटनीतिक विषयहरूको समाधानका लागि नेपालले अझ प्रभावकारी, सशक्त र परिणाममुखी कूटनीतिक पहल गर्नुपर्छ। नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै भारत-चीन-नेपालबीच समानता, आपसी सम्मान र परस्पर विश्वासमा आधारित त्रिदेशीय सहकार्यको ढाँचा निर्माण गर्नु जरूरी छ ।’

नेपाल कुनै पनि शक्तिको हेपाइ र चेपुवामा पर्ने मुलुक नभएको उल्लेख छ। नेपालको स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि आवश्यक कूटनीतिक र राजनीतिक कदम चाल्न सरकारसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस