८४ फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरिँदै

सफल खबर संवाददाता

बुधबार, ०४ भदौ २०८२, ०८ : ११
८४ फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरिँदै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गाउँपालिकामा भगवान् गौतम बुद्धको ८४ फिट अग्लो प्रतिमा निर्माणलाई तीव्रता दिइएको छ ।

पाँचपोखरी थाङ्पालमा गाउँपालिका–७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुङ्गा) मा निर्माण भइरहेको उक्त प्रतिमा धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको गाउँपालिका अध्यक्ष टाशी लामाले बताए ।

पालिकाले गौरवको योजनाका रूपमा प्रतिमा निर्माण चार वर्षदेखि सुरु गरेको हो । उनले प्रतिमा निर्माण एउटै ढुङ्गाबाट भइरहेको र हाल बुद्धको शिर निर्माणको काम सकिएको बताए ।

अध्यक्ष लामाका अनुसार उक्त परियोजनाको अनुमानित लागत तीन करोड रुपैयाँ रहेको छ भने आगामी वर्षसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गाउँपालिका, बागमती प्रदेशको समन्वय र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक पक्षको सहयोगमा बुद्धको प्रतिमा निर्माण भइरहेको उनले जानकारी दिए ।

‘सामान्यतया प्रतिमा निर्माण  ढुङ्गाका टुक्रा जोडेर  निर्माण गरिन्छ, तर हामीले एउटै ढुङ्गाबाट प्रतिमा निर्माण गरिरहेका छौँ’, उनले भने ।

यहाँको धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीयको आर्थिक समृद्धिमा टेवा पुर्‍याउन र पाँचपोखरी थाङ्पाललाई आध्यात्मिक भूमि र अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा चिनाउन यो योजना अघि सारिएको उनको भनाइ छ ।

अध्यक्ष लामाले प्रतिमा निर्माणमा आर्थिक सहयोग गर्नेहरूको नाम शिलामा लेखिने बताए ।

प्रतिक्रिया दिनुहोस