काठमाडौँ । फिल्म ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौँको म्हेपी मन्दिर परिसरमा पुजाआज गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो ।
शुभमुहूर्तमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले नरिवल फोडे भने रवि गिरीले क्ल्याप पड्काएका थिए । फिल्मको छायाङ्कन पनि आजैबाट सुरु गरिएको छ ।काठमाडौँबाट सुरु भएको छायांकन पोखरालगायतका स्थानमा हुनेछ । फिल्मको छायाङ्कन सेडुल करिब ३५ दिन रहेको निर्देशक मरिचमान श्रेष्ठ जानकारी दिए । ‘आजबाट हामीले फिल्मको छायाङ्कन सुरु गरेका छौँ । हाम्रो कला र शिपले भ्याए र जानेसम्म राम्रो काम गर्ने प्रयास गर्नेछौँ’, निर्देशक श्रेष्ठले भने, ‘हामीलाई सानो पर्दामा जसरी दर्शकले साथ र माया दिनुभयो, त्यस्तै माया र साथ ठुलो पर्दाका दर्शकले पनि गरिदिनु हुनेछ भन्ने विश्वास छ ।’
फिल्मको रिलिज मिति माघ १ गते तोकिएको छ । बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । यस्तै अन्य कलाकारमा मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)लगायत छन् ।
फिल्मको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ भदौ २०८२, १२ : १९
लेखकबाट थप