काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले किसान, मजदुर र सुकुम्वासीहरू आफ्नो पार्टी र क्रान्तिका आधारभूत वर्ग भएकोले तिनको हितमा पार्टीले निरन्तर आवाज उठाएको बताएका छन् ।
पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष सापकोटाले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र)को वर्गीय सङ्गठन समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
माओवादी केन्द्रको आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकपश्चात गठन भएको वर्गीय सङ्गठन समन्वय समिति अन्तर्गत अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासङ्घ र अखिल नेपाल सुकुम्वासी सङ्घ रहेका छन् । तीन वटै सङ्गठनका फ्र्याक्सन इन्चार्जहरू सदस्य रहेको वर्गीय सङ्गठन समन्वय समितिको इन्चार्जमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष सापकोटा रहेका छन् ।
माओवादी केन्द्रले किसान, मजदुर र सुकुम्बासीको हक, हित र अधिकारको पक्षमा निरन्तर आवाज उठाइरहेको दाबी गर्दै उनले भने 'किसान, मजदुर र सुकुम्वासी हाम्रो पार्टी र क्रान्तिका आधारभूत वर्ग भएकोले तिनको नेतृत्व गर्ने अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) र अखिल नेपाल सुकुम्वासी सङ्घ हाम्रो पार्टीका आधारभूत वर्गका सबैभन्दा महत्त्वपूर्ण सङ्गठन हुन् ।'
उनले पार्टीको भर्खरै सम्पन्न स्थायी समितिको बैठकले पार्टीमा एक अभूतपूर्व एकता कायम भएको, पार्टीभित्र चलेका बहस र छलफलका कारण आम जनतामा परेको भ्रम निवारण भएको र पार्टी अब सुदृढ एकतासहित अघि बढ्ने सङ्कल्प गरिएको बताए।
आधारभूत वर्गका तत्कालीन र दीर्घकालीन मागहरूलाई समेटेर पार्टीको कार्यनीतिलाई रणनीतिसँग जोड्ने गरी सङ्घर्षको उठान गर्नुपर्ने भन्दै उनले त्यसको तयारी गर्न, नवप्रवर्तन, आधुनिकीकरण र तथ्य–तथ्याङ्कमा आधारित रहेर सङ्गठनलाई सुदृढीकरण गर्न तीनवटै सङ्गठनका नेताहरूलाई निर्देशन दिए ।
बैठकमा तीन वटै सङ्गठनका इन्चार्ज र अध्यक्षहरूले आ–आफ्ना सङ्गठनहरूको सङ्गठनात्मक स्थिति, राजनीतिक(वैचारिक पक्ष, सङ्गठनसँग सम्बन्धित वर्ग र समुदायका समस्याहरू र तिनको समाधानका उपायहरूका साथै संयुक्त मोर्चा र सङ्घर्षको तयारी लगायतका विषयहरूबारे रिपोर्टिङ गरेका थिए ।
बैठकमा उठेका विषयहरूलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष तथा समन्वय समितिका इन्चार्ज सापकोटाले सङ्गठन निर्माण तथा परिचालनका साथै जनताको हक, हित र अधिकारको पक्षमा दृढतापूर्वक लाग्न निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ साउन २०८२, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिद्वारा आयोजित बिपिन जोशीको सम्झनामा दीप प्रज्वलन कार्यक्रम
अखिल क्रान्तिकारी चितवनले गर्यो जेन जि आन्दोलनमाथि भएको दमनको निष्पक्ष छानबिन र न्यायको माग
काँग्रेस र एमालेलाई चुनावको पक्षमा उभिन माओवादीको अपिल
अखिल (क्रान्तिकारी) चितवनका जिल्ला अध्यक्षमा इ. सुशिल कार्की (अब्दुल) चयन
माओवादी निकट जेनजीको संगठन, तिहार लगत्तै एक्सनमा उत्रिने तयारी
मतदाता नामावली अद्यावधिक कार्यमा गम्भीर बन्न पार्टी पङ्क्तिलाई माओवादीको पत्र