नर्दन टेरिटोरीसँग नेपाल ४२ रनले पराजित

सफल खबर संवाददाता

शुक्रबार, ३० साउन २०८२, १९ : १४
नर्दन टेरिटोरीसँग नेपाल ४२ रनले पराजित

काठमाडौँ । टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग ४२ रनले पराजित भएको छ ।

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा स्ट्राइकले दिएको रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए ।

कुशल भुर्तेल ८, आसिफ शेख ११, लोकेश बम ०, कप्तान रोहित पौडेल २३, गुल्सन झा २६, दीपेन्द्रसिंह ऐरी १९ र सोमपाल कामी १ रन बनाएर आउट भए । रुपेश सिंह ८ र सन्दीप लामिछाने २ रनमा अविजित रहे । बलिङमा स्ट्राइकका म्याट हामोन्डले सर्वाधिक ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्ट्राइकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । स्ट्राइकका लागि कप्तान डार्सी शर्टले सर्वाधिक ५१ रन बनाएका थिए । बलिङमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस