महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०८२, ०९ : ४३
महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो

कञ्चनपुर । महेन्द्रनगरस्थित नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढेको छ । उत्कृष्ट सस्तो सेवाका कारण भारतीय आँखाका बिरामी समेत यहाँ उपचार गराउन आकर्षित भइरहेका छन् । 

अस्पतालले आर्थिक वर्ष २०८१ /८२ मा २४ हजार ७८० जनालाई आँखासम्बन्धी उपचार सेवा प्रदान गरेको छ । अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीका अनुसार उक्त अवधिमा मोतियाविन्दु भएका छ सय ३४ जनाको शल्यक्रिया गरिएको छ भने पाँच हजार ४१३ जनालाई चस्मा वितरण गरिएको छ ।

‘आँखा उपचार सेवालाई गुणस्तरीय बनाएका छौँ,’ उनले भने, “अन्य स्थानका तुलनामा सेवा सस्तो पनि छ, स्वदेशी वा विदेशी भनेर कुनै विभेद गरिँदैन, सबैलाई समान शुल्क लिएर समान व्यवहार गरी उपचार गरिँदै आएको छ ।”

उनका अनुसार यही कारणले अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ । अस्पतालमा सेवा लिनेमा एक हजार ६६७ जना भारतीय नागरिक रहेका छन् । नेत्र अधिकृत धामीका अनुसार भारतीय बिरामीको चाप बढ्नुमा अस्पतालको गुणस्तरीय, विभेदरहित सेवा र अतिरिक्त शुल्क नलिइनेलगायत रहेको छ । 

“मोतियाविन्दु, आँखामा मासु पलाएका, नेत्र ज्योतिको समस्या भएका, चस्मा लाग्ने, परेला फर्केकालगायत बिरामीको शल्यक्रिया मेसिनका माध्यमबाट अस्पतालमै गरिँदै आएको छ”, उनले भने, “जलविन्दु भएका, आँखाको नानी (रेटिना) प्रत्यारोपण गर्नुपर्ने जटिल प्रकृतिका बिरामीलाई शल्यक्रियाका लागि गेटा आँखा अस्पतालमा ‘रेफर’ गरिँदै आएको छ ।”

उनका अनुसार हाल दैनिक अस्पतालमा एक सय १५ देखि एक सय २० जनासम्म बिरामी आँखा उपचारका लागि पुग्ने गरेका छन् । बिरामीबाट लिने शुःल्कबापतको रकम बचत गरी अस्पताल सञ्चालनमा खर्च गरिँदै आएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०८१ / ८२ मा विद्यालय र दुर्गम स्थानमा आँखा शिविर सञ्चालन गरी थप सेवा प्रवाह गरिएको छ । विद्यालयस्तरका छ शिविरमार्फत एक हजार ९०० विद्यार्थीलाई सेवा दिइएको थियो भने स्थानीय तहस्तरमा आयोजित शिविरबाट तीन हजार ९०० जनाले सेवा लिएका छन् ।

विसं २०४२ मा आँखा उपचार केन्द्रका रूपमा उक्त अस्पतालको स्थापना गरिएको थियो । पछि २०७० सालमा १० शय्याको आँखा अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो । अस्पताल सञ्चालन हुँदै आएको भवनमा शल्यक्रिया गर्न अप्ठेरो हुन थालेपछि भवन निर्माणका लागि नगरपालिका र प्रदेश सरकारलाई आग्रह गरेका छौँ, आश्वासन पाएका छौँ, अहिलेसम्म बजेटको टुङ्गो नलागेको नेत्र अधिकृत धामीले बताए ।

प्रतिक्रिया दिनुहोस