चितवनको लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने

रासस

शनिबार, १७ साउन २०८२, ११ : २९
चितवनको लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने

चितवन । यहाँको लोथर खोला र राप्ती दोभानको किनारमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने भएको छ । सो स्थानमा अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार गरी भण्डारण गृह निर्माण गरिने भएको हो ।

भण्डारण गृह बनाउन राप्ती नगरपालिका–१ मा २३ बिगाहा १२ कठ्ठा जमिन नेपाल आयल निगमले खरिद गरेर साइट अफिस सञ्चालनमा ल्याइसकेको छ । चितवन र मकवानपुर जोड्ने लोथर पुलबाट ७०० मिटर पश्चिम लोथर खोलाको बाँध सम्म नियमले जग्गा लिएको हो ।

नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको सहकार्यमा रु १५ अर्ब लगानीमा अमलेखगञ्ज लोथर पेट्रोलियम पाइप लाइन तथा भण्डारण गृह निर्माण गरिँदै छ । आयल निगमले रु १० अर्ब र इन्डियन आयल कर्पोरेशनले रु पाँच अर्ब लगानी गरेर परियोजना सम्पन्न गर्न लागिएको हो । जग्गा खरिदमा रु ६० करोड खर्च भइसकेको छ भने रु १० करोडमा थप जग्गा खरिद प्रक्रियामा रहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस