आकाश ताक्दै किसान : महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ

सफल खबर संवाददाता

शुक्रबार, १६ साउन २०८२, ०८ : ०८
आकाश ताक्दै किसान : महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ

महोत्तरी । लामो खडेरीले आँत्तिएका यहाँका किसानले अझै आकाश ताक्न छाडेका छैनन् । आकाशे पानीको भरमा रहेका किसान वर्षा भए रोपाइँ गर्न पाइन्छ कि भन्ने आशामा आकाश ताक्दै बसेका छन् । 

रोपाइँको समय घर्कंदै जाँदा पनि यहाँका किसान वर्षा भइहाले अलिअलि भए पनि रोपाइँ गर्न पाइन्थ्यो भन्ने आशमा बसेका हुन् ।

‘मध्य साउनमा धानको रोपो लहलहाउनुपर्ने हो, हामी अझै पानी परे रोप्न पाइन्थ्यो कि भन्ने आशमा छौँ’, भङ्गाहा–१ का किसान रामकिसन मण्डलले भने। यसपालि धानको बीउ राख्ने, बीउ रोप गर्ने र खरुअन (कलम, पहिलो रोपो गाँजिएपछि उखेलेर रोप्ने) रोपका परम्परागत तालिका पानी नपरेर त्यसै बितेका उनको भनाइ छ ।

मधेससहित महोत्तरीमा गत जेठ २२ भित्र बीउ राख्ने, असार २२ भित्र बीउ रोप सक्ने र साउन २२ गतेभित्र खरुअन रोपीसक्ने तालिका मानिन्छ । खरुअन बीउ अपूग हुँदा र बर्खे धान तथा अन्यबाली काटेर रोपाइँ गरिन्छ । यसपालि पानी नपर्दा यी तालिका सबै खल्बलिएका स्थानीय इस्राफिल राइनले बताए। 

पानी पर्ला र धान रोपौँला भन्ने आशैआशामा मध्य साउन बित्न लाग्दासम्म रोपाइँ हुन नसकेपछि किसान चिन्तित छन् । गत सोमबार एकछिन परेको पानीले ब्याडमा पहेँलिँदै गरेको बीउ र अघिको रोपो जगाए पनि रोपाइँका लागि नभएको किसान बताउँछन् । 

जिल्लामा साउन दोस्रो सातासम्म ३५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ । रोपिएको धान पनि सर्वसाधारणका लागि निकै खर्चिलो भएको बताइएको छ । 

‘आफ्नो खेतमा इनार-बोरिङ केही छैन । सबै भाडामा चलाउन पर्दा घरमा भएको अन्नपात सबै सकियो’, बर्दिबास–७ का किसान रितबहादुर खत्रीले भने, ‘यस वर्ष खाद्य संकट हुने जोखिम छ, के खाएर जीविकोपार्जन गर्ने हो चिन्ता लाग्छ । पानी पर्लाकी भन्ने आशले आकाश ताक्दाताक्दै आँखा टट्टाएका उहाँको भनाइ छ ।

‘अब पानी पर्ला भनेर आकाश ताक्छौँ, पानी पर्दैन । चैत वैशाखको हुरहुरे बतास पो चल्दैछ’, खत्रीले भने, ‘पूर्वीया यो रुखो बतासले खेतबारीमा भाएको चिस्यान पनि रुख्याउँदैछ ।’

वीरक्तलाग्दो मौसमले कामको जाँगर सबै हराएको किसान बताउँछन् । असार २२ ताका सक्नुपर्ने बीउ रोप साउन दोस्रो सातासम्म नभएको किसानको दुखेसो छ । अब पानी परी हालेपनि बीउ अपुग भएर रोपाइँ बढ्ने स्थिति नरहेको किसानको निष्कर्ष छ । यसअघि रोपिएका धान पनि राम्ररी नगाजिँदा खरुअन हुने सम्भावना नदेखिएको किसान खत्रीले बताए।

प्रतिक्रिया दिनुहोस