देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न

सफल खबर संवाददाता

मंगलबार, ०६ साउन २०८२, ०९ : ०१
देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं । यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १२ प्रतिशतले कम हो ।

देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए ।

उनका अनुसार मौसमको प्रतिकूलताले असर देखा नपरे साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा करिब ९७ प्रतिशत रोपाइँ सम्पन्न हुँदा एक लाख ७१ हजार हेक्टरमा रोपाइँ भएको सूचना अधिकारी जोशीले बताए । प्रतिशतका हिसाबले यहाँ सबैभन्दा बढी रोपाइँ सम्पन्न भएको छ । उनका अनुसार बागमती प्रदेशमा ८७ प्रतिशत रोपाइँ सम्पन्न हुँदा एक लाख पाँच हजार हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्ष यही अवधिमा करिब ८४ प्रतिशत रोपाइँ भएको थियो ।

मन्त्रालयले आइतबारसम्म सङ्कलन गरेको तथ्याङ्कअनुसार देशका केही भागमा रोपाइँ जारी छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी जोशीका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । ‘सो क्षेत्रबाट धानको उत्पादकत्वमा वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान छ । पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ’, उनले भने ।

आर्थिक वर्ष २०८०–०८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो । मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस