एउटै किसानले फलाउँछन् दैनिक पाँचसय केजी बोडी

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०८२, ०७ : २६
एउटै किसानले फलाउँछन् दैनिक पाँचसय केजी बोडी

झापा । विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्‍याउन भ्याइनभ्याइ छ ।

उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ ।

भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कठ्ठामा खनालले बोडीखेती गरेका हुन् । हाल आठ कठ्ठामा फल लाग्न बाँकी नै र आठ कठ्ठामा लहलह फलेको बोडी छ । सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कठ्ठाबाट तरकारीखेती सुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा त्यसको विस्तार गरेका हुन् ।

उनले बोटबाट टिपेको बोडी नगरपालिकाका सातवटा सुपथ मूल्यका पसलमा बिक्रीका लागि लैजाने गरिएको बताए । ‘पसलमा नगरपालिकाले तोकेको समर्थन मूल्यमा बिक्री हुने गरेको छ । यदि बजार भाउ खस्किएर कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता आयो भने नगरपालिकाले समर्थन मूल्य बराबरको रकम तिरिदिने भएकाले बजारको कुनै चिन्ता गर्नुपरेको छैन’, खनालले भने ।

बोडी हाल प्रतिकेजी ३० देखि १०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । कहिलेकाहीँ भने मूल्यमा उतारचढाव आउने गरेको उनले बताए । नगरपालिकाले तरकारीमा विषादीको अवशेष जाँच गरेर मात्र पसलमा बिक्रीका लागि अनुमति दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस