धनुषा । मिथिलाञ्चलका मन्दिरहरूमा साँझपख झुलनोत्सवको रौनक सुरु भएको छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि हिन्दु धर्मालम्वीहरुले मठ मन्दिरमा झुला महोत्सव धुमधामकासाथ मनाउन सुरु गरेका हुन् । साउन शुक्ल तृतीया तिथिबाट सुरु भएको झुलनोत्सव साउन पूर्णिमासम्म चल्ने गर्दछ ।
झुल्नोत्सवमा भगवान सीताराम र राधाकृष्णलाई झुलामा झुलाइने परम्परा छ । यसका लागि जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरदेखि प्रत्येक मठमन्दिरमा विशेष किसिमको सिंहासन निर्माण गरी सजाइएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा छ ।
एकातर्फ भगवान राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाचगान, भजन कीर्तन र लोक कथाहरू सुनाइने जानकी मन्दिरका उत्तराधिकारी महत्थ रामरोशन दास वैष्णवले बताए । मणिपर्वत विधिबाट सुरु भएको झुलनोत्सवको क्रममा प्रत्येक साँझ कजरी मलार लगायतको धार्मिक महत्त्व झल्किने गीत गाएर भगवानलाई झुला झुलाउने परम्परा छ । तर पछिल्लो समय झुलामा गाइने लोकगीत कजरी, मलार जस्तै झुलाको परम्परा समेत लोपोन्मुख अवस्थामा पुगेको छ । यद्यपि देशमा माओवादी सशस्त्र द्वन्द्वपछि बिस्तारै झुलनोत्सवमा ह्रास आएको उत्तराधिकारी महत्थले बताए ।
उनले हिन्दु धर्मावलम्वीको यो विशेष परम्परालाई जोगाउन तीनै तहको सरकारले ध्यान दिन नसकेको गुनासो गरे । मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनाभरी झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको मध्यरातमा झुलनोत्सवको धागो काटेर विधिवत् रूपमा सम्पन्न गर्ने धार्मिक परम्परा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ साउन २०८२, १२ : ५९
लेखकबाट थप