बागमती कांग्रेसमा किचलो : दल नेता छान्न आज चुनाव, लामा पक्षले सार्ने उम्मेदवार को ?

लामाको नजरमा यो खेल प्रतिशोधको हो, बानियाँका लागि पुनर्वास

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०८२, ०९ : १२
बागमती कांग्रेसमा किचलो : दल नेता छान्न आज चुनाव, लामा पक्षले सार्ने उम्मेदवार को ?

काठमाडौं । नेपाली कांग्रेसभित्रको बागमती प्रदेश राजनीति अहिले तातिएको छ । यस तनावको मूल केन्द्रमा छन् —मुख्यमन्त्री बहादुर सिंह लामा र कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ ।

यी दुई नेताको सम्बन्ध प्रारम्भमा सहकार्यको नमूना थियो, तर अहिले त्यही सम्बन्ध सत्ता, स्वार्थ र रणनीतिक असमझदारीको पीडादायी द्वन्द्वमा परिणत भएको छ ।

सहयात्रीदेखि प्रतिस्पर्धी हुँदै—एक सम्बन्धको संक्रमण
बहादुर सिंह लामा (नुवाकोट) र इन्द्र बानियाँ (मकवानपुर) दुवैजना ठेकेदारी र व्यवसायिक पृष्ठभूमिबाट आएका, संगठित धनशक्ति, स्थानीय प्रभाव र सांगठनिक पहुँच भएका नेताका रूपमा कांग्रेस बागमतीको केन्द्रमा रहेका छन् । एक समय यी दुईको नाम पार्टीभित्र ‘पावर डुओ’ को रूपमा उच्चारण हुन्थ्यो । त्यो पनि कांग्रेस सभापति शेरवहादुर देउवाका दुई पिल्लरका रुपमा ।

एकै पार्टीभित्र दुई समिकरण, दुई सोच, दुई उद्देश्यको लडाइँले बागमती कांग्रेसलाई पुनर्संरचनाको मोडमा पु¥याएको छ ।

प्रदेशको सत्ता समीकरणमा कांग्रेसको पकड़ बनाउने अभियानमा उनीहरूले मिलेर धेरै मोर्चा सम्हाले । लामाले संघीय राजनीतिबाट प्रदेश राजनीतिमा पुनः प्रवेश गर्दा बानियाँलाई सशक्त सहकर्मीका रूपमा अघि बढाएका थिए । तर, सत्ता सन्तुलन र स्वार्थको जालोमा यो सहकार्य क्रमशः प्रतिस्पर्धामा, अनि प्रतिस्पर्धा अस्वस्थ द्वन्द्वमा बद्लियो ।

अविश्वासको चक्रव्यूह—सहकार्यको पटाक्षेप
सरकार गठन, मन्त्री चयन, बजेट विनियोजनजस्ता ठूला विषयहरूमा मतभेद चुलिँदै जाँदा बानियाँ र लामाबीचको सम्बन्ध तनावपूर्ण बन्दै गयो । मुख्यमन्त्री बन्ने आकांक्षामा रहेका बानियाँ त्यति बेला पछाडि परे जब लामाले देउवा समुहको आशीर्वाद लिँदै दल नेता पदमा उनलाई पराजित गरे र स्वयं मुख्यमन्त्री बने ।

उता बानियाँ पार्टी सभापति भइकन पनि सत्तामा ओझेलमा परे । अन्ततः यही असन्तुष्टि चरम रूप लिँदै १३ साउनमा कांग्रेस प्रदेश सभा दलकै नेताविरुद्ध अविश्वास प्रस्तावमा परिणत भयो — जुन प्रस्ताव पास भयो, लामा पराजित भए ।

यो घटनाले बानियाँलाई पुनः केन्द्रमा ल्यायो, र लामालाई बचाउ मोडमा धकेल्यो । सुरुमा दुवै नेता शेरबहादुर देउवाको निकटका थिए । तर, गत प्रतिनिधिसभा चुनावमा बानियाँले आफ्नै पार्टीकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई हराउन भूमिकामात्र खेलेनन्, देउवालाई अप्ठ्यारो पार्ने कदम चालेको आरोप उनीमाथि लाग्यो । यहीबेला देउवाले आफ्नो भरोसा लामामाथि सरेको बुझाइ पार्टीभित्र रह्यो । तर अहिले, लामाविरुद्धको अविश्वास प्रस्तावमा देउवाले सार्वजनिक समर्थन नगरे पनि परोक्ष रूपमा बानियाँतर्फ नै झुकेको आँकलन गरिएको छ ।

लामा भने अब ‘म सधैं एउटै क्याम्पमा बस्दिन’ भन्ने शैलीमा शेखर कोइराला समुहतिर झुक्न सक्ने संकेत दिइसकेका छन् । शेखर पक्ष अहिले “पर्ख र हेर” को रणनीतिमा छ, तर लामाको झुकाव उनीहरूको लागि ‘बजारको नयाँ स्टक’ झैँ महत्वपूर्ण बन्दै गएको छ । लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएको भोलिपल्ट (आज) कांग्रेस प्रदेश सभा दलको नेता चयनका लागि चुनाव हुँदैछ ।

के लामा फेरि उम्मेदवार बन्छन् ? कि, रणनीतिमा परिवर्तन गर्दै आफ्ना निकटका उपनेता रामकृष्ण चित्रकारलाई अगाडि सार्छन् ? बानियाँ भने योपटक दल नेता बन्ने बलियो प्रयासमा छन् । लामाको नजरमा यो खेल प्रतिशोधको हो, बानियाँका लागि यो पुनर्वासको । दुबैका लागि यो लडाइँ भविष्यको रणनीतिक पकडको प्रश्न बनेको छ ।

लामा पराजित भए भनेः उनी शेखर पक्षमा सक्रिय हुनसक्ने प्रबल सम्भावना छ । यसले बागमतीको शक्ति समीकरण उल्टिन सक्छ । बानियाँ जिते भनेः उनले संगठन र सत्तामा पुनः सन्तुलन ल्याउने संकेत दिन सक्छन्, तर लामाको प्रतिक्रियाले नयाँ गुटबन्दी जन्माउने सम्भावना पनि बलियो छ ।

चित्रकार अगाडि आए भनेः यो लामाको ‘ब्याक–डोर’ रणनीति हुनसक्छ—जहाँ उनी प्रत्यक्ष प्रतिस्पर्धाबाट टाढा बसेर पनि नियन्त्रण कायम गर्न चाहन्छन् । बहादुर सिंह लामा र इन्द्र बानियाँबीचको सम्वन्ध अब व्यक्तिगत हैन—यो कांग्रेसको सांगठनिक संरचना, शक्ति सन्तुलन, भविष्यको रणनीति र नेतृत्वको मार्गचित्रसँग गाँसिएको छ ।

लामाले भने सरकारको नेतृत्व नछोडने अडान जारी राखेका छन् । बरु उनले उल्टै आज तीन जना मन्त्री नियुक्त गर्ने भित्री तयारी गरेका छन् । यसले कांग्रेसभित्र नयाँ शिरामा झन टसल बढ्ने देखिएको छ ।

एकै पार्टीभित्र दुई समिकरण, दुई सोच, दुई उद्देश्यको लडाइँले बागमती कांग्रेसलाई पुनर्संरचनाको मोडमा पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस