गाजामा इजरायलले खसाल्न थाल्यो मानवीय सहायता

सफल खबर संवाददाता

आइतबार, ११ साउन २०८२, १० : ३९
गाजामा इजरायलले खसाल्न थाल्यो मानवीय सहायता

एजेन्सी । इजरायली सेनाले गाजा क्षेत्रमा विमानबाट मानवीय सहायता सामग्री खसाल्ने (एयर ड्रप) कार्य सुरु गरिएको जनाएको छ । प्यालेस्टाइनी क्षेत्रमा हप्तौँसम्मको अन्तर्राष्ट्रिय दबाब र बढ्दो भोकमरी संकटपछि यो कदम चालिएको बीबीसीले उल्लेख गरेको छ ।

आइतबार बिहान जारी एक विज्ञप्तिमा इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले उक्त एयर ड्रपमा पिठो, चिनी र क्यानमा राखिएको खाद्यसामग्रीसहित सात सहायता प्याकेज समावेश रहेको जनाएको छ ।

इजरायलले यसअघि संयुक्त राष्ट्रसंघका खाद्यन्न बोकेका ट्रकलाई गाजामा प्रवेश गर्न अनुमति दिन मानवीय मार्ग खोल्न तयार रहेको जनाएको थियो ।

यो कदम गाजामा थप सहायता प्रवेश गर्न दिनुपर्ने माग र उक्त क्षेत्रका २० लाख नागरिक भोकमरीको चपेटामा परेका सार्वजनिक समाचारपछिको हो । इजरायलले भने गाजामा जानाजानी भोकमरीको झुटो दाबी गरिएको जनाएको छ ।

आफ्नो विज्ञप्तिमा आईडीएफले उक्त एयर ड्रप अन्तर्राष्ट्रिय संगठनसँगको समन्वय र  इजरायली सेनाको एउटा निकाय (कोगट)को नेतृत्वमा गरिएको उल्लेख गरेको छ । यो गाजामा सहायता प्रवेशको निरीक्षण गर्ने इजरायली सैन्य निकाय हो ।

सेनाले एक भिडियो पनि पोस्ट गरेको छ, जसमा विमानले सहायता सामग्री ‘ड्रप’ गरेको देखाइएको छ । प्यालेस्टाइनी अधिकारीले गाजामा गरिएको भनिएको एयर ड्रपबारे हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।

गाजाको एक डिस्यालिनेसन प्लान्टमा विद्युत् आपूर्ति पुनः सुरु गरिएको पनि जनाइएको छ । त्यसबाट लगभग नौ लाख बासिन्दालाई सेवा दिने उल्लेख छ ।