सवारी कारबाहीबाट खोटाङमा झण्डै ५० लाख राजस्व सङ्कलन

सफल खबर संवाददाता

शनिबार, १० साउन २०८२, ०८ : १८
सवारी कारबाहीबाट खोटाङमा झण्डै ५० लाख राजस्व सङ्कलन

File Photo

खोटाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८१–८२ मा सवारी कारबाहीबाट रु ४९ लाख ३१ हजार ५०० राजस्व सङ्कलन गरेको छ । गत वर्षको साउन १ गतेदेखि असार मसान्तसम्ममा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७४७ वटा सवारीसाधन कारबाहीमा पर्दा उक्त राजस्व रकम सङ्कलन भएको हो ।

जिल्लामा सञ्चालित तीन हजार ११५ वटा कार, जिप तथा भ्यानलाई कारबाही गर्दा रु ३६ लाख ७७ हजार, एक हजार ३४६ वटा मोटरसाइकलबाट रु ११ लाख ५६ हजार ५००, ५७७ वटा ट्रकबाट रु पाँच लाख २० हजार, १३६ वटा बसबाट रु एक लाख २१ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक पितम राईले जानकारी दिए । 

यस्तै, ९८ वटा ट्रिपरबाट रु ८६ हजार ५००, ३५७ ट्र्याक्टरबाट रु दुई लाख ८२ हजार, ११७ वटा टेम्पो कारबाहीबाट रु एक लाख पाँच हजार राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ । 

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्दा सबैभन्दा बढी गत वर्षको कात्तिक महिनामा रु सात लाख ५१ हजार ५०० राज्यकोषमा राजस्व सङ्कलन भएको जनाइएको छ । कात्तिक महिनामा साना–ठूलागरी ८४४ वटा सवारीसाधन कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । 

दश स्थानीय तह रहेको जिल्लामा आर्थिक वर्ष ०८१–८२ मा सवारीसाधन दुर्घटनाबाट छ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । प्रनाउ विष्टले दिनुभएको जानकारीअनुसार जिल्लाका विभिन्न ठाउँ तथा विभिन्न समयमा भएको १३३ वटा सवारी दुर्घटनामा १३६ जना घाइते भएका छन् । 

बिना अनुमतिपत्र सवारी चलाएको, कागजपत्र साथ नभएको, मादक पदार्थ सेवनगरी सवारी चलाएको, पटके इजाजतपत्र नलिएको, सिट क्षमताभन्दा बढी यात्रु बोकेको, सिटबेल्ट नबाँधेको, मोटरसाइकल चालकले हेलमेट नलगाएको तथा नम्बर प्लेट उल्लेख नभएको सवारी साधनलाई कारबाही गर्ने गरिएको ट्राफिक प्रहरी प्रमुख राईले जानकारी दिए ।