आज १० अर्ब बराबरको ‘विकास ऋणपत्र’ बिक्री गरिँदै

सफल खबर संवाददाता

बुधबार, ०७ साउन २०८२, ०८ : १५
आज १० अर्ब बराबरको ‘विकास ऋणपत्र’ बिक्री गरिँदै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (बुधबार) १० अर्ब बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ । तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ ।

यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उक्त ऋणपत्रको बोलकबोल हुनेछ ।

अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने र आयकर समेत लाग्ने ऋणपत्रको साँवा भुक्तानी भने २०८५ साउन ८ गते हुने सो कार्यालयले जनाएको छ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलदातालाई क्रमशः ८५ र १५ प्रतिशत अर्थात आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदातालाई बिक्री गरिने छ ।

अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलदातालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ ।

सरकारले चालु आर्थिक वर्षमा तीन खर्ब ६२ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

यसरी उठाइँदैछ आन्तरिक ऋण
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यही साउनदेखि आगामी असोजसम्म एक खर्ब १३ अर्ब बराबरको आन्तरिक ऋण उठाउने गरी कार्यतालिका समेत सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार उक्त अवधिमा एक खर्ब १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्नेछ ।

कार्यतालिका अनुसार कार्यालयले १० अर्ब बराबरका तीन वर्षेदेखि ११ वर्षे अवधिका ११ वटा विकास ऋणपत्र बिक्री गर्नेछ । यस्तै, पाँच वर्षे दुई अर्ब ५० करोडको नागरिक बचतपत्र ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिने छ ।

यस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् कात्तिकदेखि पुससम्ममा ८५ अर्ब आन्तरिक ऋण उठाउने कार्यतालिका छ । त्यसमा ट्रेजरी बिल मार्फत २५ अर्ब तथा विकास ऋणपत्र मार्फत ६० अर्ब उठाइने छ ।

प्रतिक्रिया दिनुहोस