‘आ बाट आमा’ फिल्ममा पल र सिमरन जोडी

सफल खबर संवाददाता

मंगलबार, ०६ साउन २०८२, १३ : १५
‘आ बाट आमा’ फिल्ममा पल र सिमरन जोडी

काठमाडौँ । चन्द्र पन्तको निर्देशन रहने फिल्म ‘आ बाट आमा’ मा अभिनेत्रीको रूपमा सिमरन पन्त अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई फिल्मको मुख्य भूमिकामा भित्र्याएको हो । फिल्ममा उनी अभिनेता पल शाहसँग जोडीको रूपमा देखिने निर्माण युनिटले जनाएको छ । सिमरनले यसअघि फिल्म ‘होस्टेल ३’ मा अभिनय गरेकी थिइन् । ‘आ बाट आमा’ उनको दोस्रो फिल्म हो ।

फिल्ममा यसअघि नै अभिनेत्री बिपना थापा, साथै तेलुगु, हिन्दी र तमिल फिल्मका चर्चित अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन् । अभिनेता रावत यसअघि चन्द्र पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’ मा देखिएका थिए, जहाँ उनले अभिनेत्री नीता ढुंगानाका बुबाको भूमिकामा अभिनय गरेका थिए । नयाँ फिल्ममा उनले पल शाहको बुबाको भूमिका निर्वाह गर्नेछन्।

निर्देशक पन्तले यसअघि ‘माई’ र ‘ह्रस्वदीर्घ’ निर्देशन गरिसकेका छन् । आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म आउँदो भदौबाट छायाङ्कनमा जाने तयारीमा छ । फिल्मको थिम पोस्टर एक महिना अघि सार्वजनिक भइसकेको छ भने निर्देशक पन्तका अनुसार फिल्म आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने तय भइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस