काठमाडौँ । सांसदहरूले नेपाल प्रहरीलाई हतियार र रासनमा कुन बढी प्राथमिकता हो ? भन्दै प्रश्न गरेका छन् । सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गत सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्ने सांसदहरूले यस्तो धारणा राखेका हुन् ।
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्कीले भने, ‘एकातिर प्रहरी साथीहरूको पर्याप्त रासन छैन । खाने बस्ने व्यवस्था छैन । अरू सुविधा छैन । हतियार हाम्रो प्राथमिकता हो कि ? व्यवस्थित बस्ने र स्रोत साधनलाई व्यवस्थापन गर्ने कुरा मुख्य हो भन्ने कुरा प्रायोरिटी के हो ? हाम्रो जनशक्ति र आवश्यकता के हो भन्ने कोणबाट सोच्नुपर्ने अवस्था छ ।’
सांसदको प्रश्नमा जवाफ दिँदै प्रहरी महानिरीक्षक दीपक थापाले हतियार खरिदको विषय सरकारको पनि प्राथमिकतामा रहेको उल्लेख गरे । उनले हतियार प्रहरीका लागि नभई नहुने अवस्था आएकाले नै खरिद गर्न लागिएको स्पष्ट पारे ।
महानिरीक्षक थापाले भने- ‘हतियारका विषय पनि हाम्रो सिलिङभित्र आएका विषयहरू हुन् । यी हाम्रा आवश्यकता हुन् । ननलेथन वेपन्सहरू जस्तो अश्रुग्याँस भयो, रबर बुलेट भयो । ब्यारिकेटिङ भेहिकल्सहरु भयो । टुल्स करियर भेहिकल्सहरू भयो । सवारी साधन, ती आएका छन् । यी हाम्रो सङ्गठनको प्राथमिकीकरणभित्र भएकोले नै नेपाल सरकारबाट प्राप्त (बजेट) भएको छ । र, यसलाई पारदर्शी, जबाफदेही जिम्मेवारीपूर्ण ढङ्गले गर्नेमै हामी छौँ । पुराना कुराहरू कसरी उठ्यो ? माननीयज्यूहरूले उठाउनुभएकोले मैले राख्नै पर्यो । त्यस्तो केही पनि छैन ।’
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हतियार खरिद नियमविपरित नहुने स्पष्ट पारे । उनले भने– ‘नियमभन्दा विपरीत हतियार होइन, केही पनि खरिद हुँदैन । औषधिको गोली त हामीले नियम अनुसार खरिद गर्छौँ भने गोलीहरू, यस्तोमा कुनै पनि शङ्का गर्नुपर्दैन । नियमविपरित र यहाँहरूले शङ्का गरेको त्यस्तो काम कुनै हुँदैन ।’
गृहमन्त्री रमेश लेखकले प्रहरीका हतियारहरू पुराना भएका र काम नलाग्ने अवस्था भएका कारण सरकारले हतियार किन्ने तयारी गरेको उल्लेख गरे । केही महिनाअघि तीनकुनेमा भएको राजावादी प्रदर्शनमा प्रहरीले हानेको टियरग्यास डेट एक्सपायर भएको भन्ने चर्चाबारे प्रसङ्ग निकाल्दै मन्त्री लेखकले नयाँ नकिनेसम्म पुरानै हान्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।
उनले भने, ‘टियरग्यास हान्नुपर्यो । डेट एक्सपायर टियर ग्यास हान्यो भन्ने कुरा उठ्यो । अब टियरग्यास नयाँ किनेन भने त डेट एक्सपायर हान्नुपर्ला नि । अनि डेट एक्सपायर हान्ने कि नयाँ किन्ने ? किन्नुपर्छ । त्यसो भएको हुनाले आवश्यक हतियार किनिन्छ । कानुन बमोजिम किनिन्छ । पारदर्शी ढङ्गले किनिन्छ । र चालु आर्थिक वर्षको सीमाभित्र बसेर किनिन्छ ।’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा प्रस्तुत गरेको बजेटमा ‘प्रहरीका लागि हतियार तथा सुरक्षा उपकरण खरिद गर्न’ भनेर ९२ करोड विनियोजन गरिएको छ । करिब ३ वर्षदेखि अड्किएको हतियार खरिद गर्ने प्रक्रिया प्रहरीले फेरि अघि बढाउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ साउन २०८२, १३ : ४०
लेखकबाट थप