कुलिङ अफ पिरियडमा भएको तोडमोड अनुसन्धानका धेरै कामहरू सम्पन्न भइसके: जीवन परियार

सफल खबर संवाददाता

शनिबार, ०३ साउन २०८२, १२ : ४०
कुलिङ अफ पिरियडमा भएको तोडमोड अनुसन्धानका धेरै कामहरू सम्पन्न भइसके: जीवन परियार

काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले विज्ञहरूलाई राखेर अनुसन्धान अघि बढाएको छ । 

सिंहदरबारमा शनिवार बसेको बैठकले विज्ञको रुपमा संविधानविद् काशिराज दाहाललाई समितिमा राखेर छानबिन प्रक्रिया अघि बढाएको हो । बैठकपछि  समितिका संयोजक जीवन परियारले आज १२ औँ दिनको १८ बैठक बसेको र आज समिति गठन भएको १३ औँ दिन भएको बताए ।

उनले विगतमा कसरी र के काम भए, बाँकी कामहरू कसरी अघि बढाउने, छानबिनका क्रमहरू कसरी अघि बढाउने भन्नेबारेमा बैठकमा छलफल भएको जानकारी दिए । समितिले निर्णय गरेअनुसार संविधानविद् काशिराज दाहाललाई विज्ञको रुपमा आजको बैठकदेखि समितिमै राखेर काम सुरु गरेको बताए । 

आजको बैठकमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेर एक जना सहन्यायाधिवक्ता र एक जना उपन्यायाधिवक्तासमेत बैठकमा निरन्तर रहने गरी छानबिनमा सहयोग गर्नका लागि बोलाइएको उनले बताए । 

उनले बैठकमा अनुसन्धानको काम जारी रहेको र धेरै कामहरू सम्पन्न भइसकेको अवस्था रहेको बताए । समिति गठन भएको मितिले २१ दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ । 

प्रतिक्रिया दिनुहोस