धनगढी । कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–११ ऐठास्थित सुर्मा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलामा डुुबेर २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामीको मृत्यु भएको हो । उनीहरु बिहीबार दिउँसो पौने ३ बजे घरदेखि करिब ७ सय मिटर दक्षिण–पश्चिम रहेको सुर्मा खोलामा पौडी खेल्ने गएका बेला डुबेर बेपत्ता भएका थिए ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा खोजी गर्दा दुवै जनालाई बेहोस अवस्थामा उद्धार गरेको थियो ।
उनीहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै बझाङ र बाजुरामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ केदारस्यु गाउँपालिका–५ बहोराडी बस्ने ५९ वर्षीया कमला बोहरा रहेकी छिन् । बिहीबार घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा अचानक चिप्लिएर करिब १०० मिटर तल खसेपछि उनी गम्भीर घाइते भएकी थिइन् ।
स्थानीयको सहयोगमा उनलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषित गरेका छन् । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यता बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँका ४१ वर्षीया वीरेन्द्र बोहराको मृत्यु भएको आफन्त टेकबहादुर धामीले बताएका छन् । स्थानीय बाग्याडोरा भीरमा वस्तुभाउलाई घाँस काट्ने क्रममा चिप्लिएर लडेका हुन् । गत असार ३१ गते बिहान घाँस काट्न गएका बोहरा फिर्ता नभएपछि परिवारले खबर गरेपछि मृत अवस्थामा फेला परेका हुन् ।
बोहराका श्रीमती, दुई छोरा र एक छोरी सहाराविहीन भएका छन् । गौमुल गाउँपालिकामा वर्षेनी स्थानीय भीरबाट लडेर ज्यान गुमाउन विवश छन् । वस्तुभाउ बढी पाल्ने र भीरपाखामा घाँस दाउरा गर्ने परिस्थितिले यस्ता घटना घट्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ साउन २०८२, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँकरभिट्टा गइरहेको रात्रिबस झापामा पल्टियो
धनगढीमा कार दुर्घटना, चालकसहित चार जना घाइते
गुल्मीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु
रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतक आठ जनाको पहिचान खुल्यो
दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु
सोलुखुम्बुमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ घाइते