नमूना बगैँचा बनाउन किसानलाई सुन्तलाका बिरुवा वितरण

सफल खबर संवाददाता

सोमबार, ३० असार २०८२, ०९ : ४७
नमूना बगैँचा बनाउन किसानलाई सुन्तलाका बिरुवा वितरण

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण गरिएको छ ।

गाउँपालिकाको कृषि शाखाले सुन्तला प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नम्बर २,३,५,६ र ७ का किसानलाई सुन्तलाको बिरुवा वितरण गरिएको हो ।

शाखा अधिकृत समीक्षा पौडेलका अनुसार कलमी बिरुवा दुई हजार पाँच सय र बिज बिरुवा १५ हजार वितरण गरिएको हो ।

सुन्तलाको क्षेत्र विस्तार तथा नमूना बगैँचा बनाउने योजनाका साथ सुन्तलाका बिरुवा वितरण गरिएको हो । प्रदेश सरकारले सुन्तला प्रवर्द्धन कार्यक्रमलाई सहयोग गरेको उनको भनाइ छ ।

बिरुवा वितरणसँगै यहाँको सुन्तला लगाइएको क्षेत्रफल बढेको छ । उनले भने, ‘सुन्तलाको क्षेत्रफल बढेको छ । पहिला सुन्तला लगाएको बगैँचा ८५ हेक्टर क्षेत्रफल भएकोमा अहिले बढेर ९० पुगेको छ ।’

सुन्तला लगाएको बगैँचामा मरेका बिरुवालाई प्रतिस्थापन गरेर नयाँ बिरुवा लगाइएको छ, भने नयाँ बगैँचा थपिएको छ । कार्यालयले सुन्तलाको क्षेत्रफल विस्तारसँगै नमूना बगैँचा बनाउने कार्यक्रम राखेको भए पनि काम हुन नसकेको उनले जानकारी दिए ।

नमूना सुन्तला बगैँचा स्थापना, गुरु किसान परिचालनको काम भने हुन नसकेको उनको भनाइ छ । शाखा अधिकृत पौडेलका अनुसार गुरु किसान छनोट गरेर प्रक्रिया अघि बढाउने क्रममा किसानले चासो नदेखाएपछि यो कार्यक्रम स्थगित भएको हो । वडा नम्बर ३ बाट किसान छनोट गरिएको भए पनि काम हुन नसकेको उनको भनाइ छ ।

गुरु किसान परिचालन गर्न नसक्दा नमूना बगैँचा बनाउने कामसमेत रोकिएको उनले जानकारी दिए । गुरु किसानले आफूले जानेका सीपलाई किसानलाई सिकाउने र नमूना बगैँचा बनाउने योजना रहेको थियो । गुरु किसान बन्न किसान नआएपछि गाउँपालिकाको चार लाख खर्च हुनसकेको छैन । 

प्रतिक्रिया दिनुहोस