काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षित गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएको छ।
पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले काँग्रेसले सरकारलाई दुवै काँध दिएर पूर्ण समर्थन गर्दा पनि कार्यसम्पादन सुस्त रहेको टिप्पणी गरेका हुन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारको गतिप्रति पार्टी सन्तुष्ट नरहेको स्पष्ट पारेका हुन्।
‘काँग्रेसले एउटा मात्रै काँध होइन, दुई वटै काँध थापिदिएको छ। तर, सरकारले भनेजस्तो गति पक्रिन नसकेको कुरा मैले ढाकाछोप गर्न सक्दिनँ। गति पक्रिन सकेको छैन,’ उनले भने।
यद्यपि, विश्वकर्माले काँग्रेस तत्काल सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पारे। उनले सरकार बदल्नेभन्दा पनि सरकारको कार्यशैली र कार्यसम्पादनमा सुधार हुनुपर्नेमा पार्टीको जोड रहेको बताए।
‘अहिले हामी सरकार बदल्ने भन्दा पनि सरकारको कार्यशैली बदल्नुपर्छ भन्ने निष्कर्षमा छौँ,’ उनले भने, ‘त्यही निष्कर्षको आधारमा केन्द्रीय समितिको बैठक चलिराखेको छ। हामी सरकारको कार्यसम्पादनबारेमा समीक्षा गर्दै छौँ र नागरिकका असन्तुष्टिलाई पनि हामीले बैठकमा छलफल गरेका छौँ।’
नेता विश्वकर्माले सरकार जनताको टुटेको विश्वासलाई जोड्ने गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले सुशासनको सम्बन्धमा भने भर्खरै केही सरलता र सुगमता आएको स्वीकार गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ असार २०८२, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै
कांग्रेस केन्द्रीय समिति बैठक सर्यो
कांग्रेसका ११ केन्द्रीय सदस्यविरुद्ध अनुशासन समितिमा उजुरी