चितवन पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा

सफल खबर संवाददाता

शनिबार, २१ असार २०८२, १४ : १८
चितवन पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा

चितवन । चितवनलाई लगातार दोस्रोपटक पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ । आज (शनिबार) एक कार्यक्रमकाबीच बागमती प्रदेश खोप समन्वय समितिले चितवनलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको छ । बागमती प्रदेश खोप समन्वय समितिका सदस्य सचिव डा.नरेन्द्र कुमार झाले जिल्ला खोप समन्वय समिति चितवनका संयोजक नारायणप्रसाद अधिकारीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । १५ महिना उमेर भित्रका बालबालिकालाई सबै (१३ वटा रोगविरुद्धको) खोपहरु लगाएपछि पूर्णखोप सुनिश्चितता भएको जिल्ला घोषणा गर्ने गरिएको छ ।

पूर्ण खोप सुनिश्चितता गर्न १६ देखि २३ महिनासम्मका बालबालिकाहरुमा सर्वेक्षण गर्ने गरिएको छ । वैशाखसम्म थप ५०४ जना बालबालिकालाई पूर्ण खोप लगाईएको छ । पहिलो चरणमा २०८१ माघदेखि चैतसम्ममा ४४८ जना छुट बालबालिकालाई खोप लगाएको थियो भने यही वैशाख महिनामा खोज र खोप अभियान चलाउँदा थप छुट भएका ५६ जना बालबालिकालाई खोप लगाएसंगै चितवनलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए । चितवनमा जन्मदेखि १५ महिनासम्मका ९ हजार ७९ जना बालबालिका रहेका छन् भने १६ महिनादेखि ५ वर्षसम्ममा २५ हजार ४५२ जना बालबालिका रहेको तथ्यांक छ । स्वास्थ्य कार्यालयका अनुसार ती सबै बालबालिका अब पूर्ण खोप लगाउन सफल भएका छन् । चैतसम्म गरिएको घरधुरी सर्वेक्षणमा १६ जनाले कुनै पनि खोपको डोज नलगाएको र ४३२ जनाले खोप छुटेको बालबालिका फेला परेको थियो । वैशाखमा थप अभियान चलाउँदा २ जना कुनै पनि खोप नलगाएको र ५४ जना खोप छुट भएको बालबालिका फेला परेको थियो । अहिले ती सबै बालबालिकालाई पूर्ण खोप लगाइएको छ ।

चितवनलाई पहिलोपटक २०७५ जेठमा २५ गते पूर्णखोप सुनिश्चितता घोषणा गरिएको थियो । त्यसपछि कोरोना भाइरसका कारण अभियान रोकिदा गतवर्ष पुनः चितवनलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति चितवनका अध्यक्ष एवं जिल्ला खोप समन्वय समिति चितवनका संयोजक नारायणप्रसाद अधिकारीले चितवनलाई यो उपलब्धि हासिल गराउन सफल भएकोमा सबै स्थानीय तह र स्वास्थ्य संस्थालाई धन्यवाद दिए ।

बागमती प्रदेश खोप समन्वय समितिका सदस्य सचिव डा.नरेन्द्र कुमार झाले विगतमा दातृ निकायबाट खोप प्राप्त हुँदै आएकोमा पछिल्लो समय नेपाल सरकारले नै आफ्नै बजेटबाट खोप खरिद गर्न थालेको भन्दै खोप खेर जाने क्रमलाई रोक्नुपर्ने बताए । उनले असार २७ गते भित्रमा बागमती प्रदेशका सबै जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरेपछि प्रदेशलाई घोषणा गरिने जानकारी दिए ।

कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले चितवनका धेरैजसो पालिका भौगोलिक रुपमा पहाडी भेगलाई समेत छुने गरेकाले चुनौतिका बाबजुद पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गर्न सफल भएको बताए । उनले यो सफलता हासिल गर्न सबै पालिका र स्वास्थ्यकर्मीहरुको मुख्य देन रहेको बताए । उनले आगामि दिनमा पनि खोपलाई विशेष ध्यानमा राखेर अभियान चलाइने बताए ।

स्वास्थ्य कार्यालयका अनुसार नेपालमा हाल ८० प्रतिशत बालबालिका मात्रै पूर्ण खोप लगाएका छन् भने ४ प्रतिशत बालबालिका कुनै पनि खोप नलगाएको भेटिएका छन् । यस्तै बागमती प्रदेशमा ९.३ प्रतिशत बालबालिका अझै पनि कुनै पनि खोपको डोज लगाउन नपाएको तथ्यांक छ ।