काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्र व्यवस्थित बनाउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । चन्द्रागिरि नगरपालिका-७ मा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित भवनको शुक्रबार उद्घाटन गर्दै उनले नीतिगत सुधारदेखि कार्यान्वयनमा ध्यान दिइएको उनले बताए ।
सवारी साधनलाई भारबहन क्षमता अनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइसाथ लागु गरिने समेत उनले बताए । नेपाली सडक तथा संरचनाको दिगो उपयोगका लागि भारबहन क्षमता कडाइसाथ लागु गर्न आवश्यक रहेको उनले बताए । अधिक भारका मालवाहक सवारीसाधनका कारण नेपालका पुल तथा सडकमा ठूलो नोक्सानी हुने गरेको भन्दै मन्त्री दाहालले सीमा क्षेत्रदेखि नै यसको नियन्त्रण गरिने बताए ।
उनले नेपालका सडक, पुल लगायत संरचना संरक्षण सबैको दायित्व रहेको पनि उल्लेख गरे । ‘हाम्रो भू-बनोट तथा सडकको अवस्था अनुसार पुलहरूको निर्माण गरिएको हुन्छ,’ मन्त्री दाहालले भने, ‘निश्चित भार क्षमताका ती संरचनामा जथाभाबी अधिक भारका सवारीसाधन त चलाउनु भएन, हाम्रा संरचना संरक्षण गर्ने जिम्मेवारी सबैको हो ।’
नेपाल अहिले निर्माण चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले नेपालमा केही भएन र हुँदैन भन्नेहरूको भ्रमलाई एसियन मापदण्डमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग तथा मध्य पहाडी राजमार्गले चिरिरहेको समेत दाबी गरे ।
यस्तै उत्तर–दक्षिण करिडोरका रूपमा निर्माण भइरहेका राजमार्गले नेपाललाई चीन र भारतसँगको पहुँच पनि बलियो बनाइरहेको मन्त्री दाहालको भनाइ छ । हुम्लामा समेत पुल बनेसँगै नेपालका सबै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको भन्दै उनले अब विकासलाई उत्पादनसँग जोड्न जरुरी रहेको बताए ।
‘हामीले सडक तथा पुल त बनायौँ तर यो नै अन्तिम विकास होइन, यी संरचनालाई उत्पादनमा जोड्नु जरुरी छ,’ मन्त्री दाहालले भने, ‘अब सहर र गाउँको दुरी टाढा रहेन, गाउँमा पनि उद्यमशीलता विकास गर्न सहज भएको छ । त्यहाँ उत्पादित तथा प्रशोधित कृषि उपज लगायत उत्पादन बजारसम्म ल्याएर उत्पादन वृद्धितर्फ पनि हामीले ध्यान दिने बेला आएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्वार्को फ्लाईओभर जेठ अन्त्यसम्ममा पूरा हुन्छ : मन्त्री दाहाल
कार्यसम्पादन भनेको वर्षभर पढेर एउटा जाँच दिएर पास भएजस्तो होइन : भौतिक पूर्वाधारमन्त्री
लाइसेन्स छपाइ तथा वितरणको काम प्रदेश स्तरबाटै हुन आवश्यक छ : मन्त्री दाहाल
पूर्वाधार आयोजना योजनाबद्ध नहुँदा समस्या : भौतिक मन्त्री दाहाल
कानुनी समस्याका कारण कुनै पनि योजना अवरुद्ध हुन दिँदैनौँ: मन्त्री दाहाल
मन्त्री दाहालले गरे निर्माणाधिन ग्वार्को फ्लाई ओभरको स्थलगत निरीक्षण