बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिना जेल सजाय हुने फैसला

एजेन्सी

बुधबार, १८ असार २०८२, १६ : ११
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिना जेल सजाय हुने फैसला

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको मानहानी सम्बन्धी मुद्दामा ६ महिनाको जेल सजाय सुनाइएको छ ।  न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले बुधबार यो फैसला गरेको हो ।

यो मुद्दा शेख हसिनाले गत वर्ष अक्टोबरमा गाइबान्धाको गोबिन्दगञ्जका स्थानीय नेता शाकिल अकन्द बुलबुलसँग गरेको कथित फोन कुराकानीको लीक भएको अडियोमा आधारित छ । उक्त अडियोमा हसिनाले आफू विरुद्ध २२७ वटा मुद्दा दायर भएको र त्यसले उनलाई ‘२२७ जनालाई मार्ने इजाजत दिएको’ भन्ने विवादास्पद टिप्पणी गरेको सुनिएको थियो । यो अडियो सामाजिक सञ्जाल र मुलधार मिडियामा भाइरल भएको थियो ।

सोही मुद्दामा शाकिल अकन्द बुलबुललाई पनि दुई महिनाको जेल सजाय सुनाइएको छ । उनी बंगलादेशको अवामी लिगको विद्यार्थी संगठन, छत्र लिगका नेता हुन् । १९९६ देखि २००१ र सन् २००९ देखि २०२४ सम्म बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिना सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलन र हिंसात्मक प्रदर्शनपछि देश छोडेर भारतमा निर्वासित भएकी थिइन् ।