तेलङ्गनामा विस्फोट, ३४ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १७ असार २०८२, १० : २१
तेलङ्गनामा विस्फोट, ३४ जनाको मृत्यु

तेलङ्गना । भारतको तेलङ्गाना राज्यस्थित संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार एक रियाक्टरमा विस्फोट हुँदा भएको ठुलो आगलागीमा मर्नेको सङ्ख्या ३४ जना पुगेको छ । 

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार कारखानाबाट ३१ जनाको शव निकालिएको थियो। यता, अस्पतालमा ३ जनाको मृत्यु भएको छ। ३० जनाभन्दा बढी घाइते भएका छन्।

सोमबार कारखानाको रियाक्टर युनिटमा विस्फोट भएको थियो। यो दुर्घटना बिहान ८:१५ देखि ९:३० बजेको बिचमा औद्योगिक क्षेत्रमा अवस्थित सिगाची इन्डस्ट्रिजमा भएको थियो।

यता बीबीसी हिन्दीले जिल्ला प्रशासनलाई उद्धृत गर्दै यस दुर्घटनामा २४ जना अझै बेपत्ता रहेको र सबैको खोजी जारी रहेको बताएको छ। यसबाहेक ५७ जना सुरक्षित छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा लेखेका छन्, ‘तेलङ्गनाको संगारेड्डीमा भएको कारखाना आगलागीमा ज्यान गुमाउनुपरेकोमा म दुखी छु। हाम्रा समवेदनाहरू आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति छन्। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकको परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत प्रदान गरिने बताए। यसका साथै, बिहार सरकारले बिहारका मृतकका आश्रित परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ र घाइतेलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।ॐ