अहिलेसम्मको भूमिकाबाट मुक्त हुन्छु : प्रस्तावित न्याय परिषद् सदस्य नेपाल

सफल खबर संवाददाता

सोमबार, १६ असार २०८२, १२ : ४०
अहिलेसम्मको भूमिकाबाट मुक्त हुन्छु : प्रस्तावित न्याय परिषद् सदस्य नेपाल

काठमाडौँ । प्रस्तावित न्याय परिषद् सदस्य महेशकुमार नेपालले नियुक्तिपछि अहिलेसम्मको भूमिकाबाट मुक्त हुने बताएका छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा सदस्यहरूको जिज्ञासामा जवाफ दिँदै उनले आफू बहुलवादमा विश्वास गर्ने भएकाले दलीय प्रभावबाट मुक्त रहने बताए । 

'अहिलेसम्म एक जना कानुन व्यवसायीको रूपमा छु । मलाई प्रधानमन्त्रीज्यूले कानुनविद्को रूपमा न्याय परिषद्को सदस्यमा सिफारिस गर्नुभएको छ,' उनले भने, 'तर मेरो भूमिका अहिलेसम्म जे थियो, हिजो जे थियो, त्यो भूमिका नै मैले निरन्तरता दिने हो भनेदेखि त्यो पदको मैले न्याय गर्न सक्दिनँ ।' 

पदको न्याय गर्न नसकेको अवस्थामा समग्र न्यायपालिकाको कामहरू एकपक्षीय हुने भएकाले पदीय जिम्मेवारी अनुरूपका कर्तव्यहरू पालना गर्ने उनको भनाई थियो ।सुनुवाइका क्रममा समिति सदस्यहरूले न्यायपालिकालाई कसरी सक्षम बनाउने, त्यहाँका न्यायाधीशहरूले कसरी स्वतन्त्र रूपमा न्याय निरूपण गर्ने भन्ने सवाल गरेका थिए । तर जिम्मेवारी कहाँ लिइरहेको र त्यो जिम्मेवारीले के कुरोलाई भन्छ भन्ने महत्त्वपूर्ण भएकाले पदीय जिम्मेवारी अनुरूप आफूले काम गर्ने उनको भनाइ थियो । 

आफ्नो तीन पुस्ताले जहिले पनि प्रजातान्त्रिक व्यवस्थामा विश्वास गरेकोमा आफू पनि बहुलवादमा विश्वास गर्ने भएकाले जिम्मेवारीलाई न्याय गर्ने उनले बताए । 'दलहरू फरक-फरक होलान्, अलग-अलग दलहरू होलान्, तर त्यसको अभीष्ट भनेको चाहिँ सुधार हो हो, राष्ट्रको सुधार हो भन्ने कुरो मलाई लाग्छ। त्यसले विचारको आधारमा आफू अगाडि बढ्नु एउटा प्रश्न हो, तर जिम्मेवारी आइसकेपछि त्यो जिम्मेवारीलाई न्याय गर्नु चाहिँ महत्त्वपूर्ण कुरा हो,' उनले भने । 

न्याय परिषद्मा कारबाहीका विषयहरू कसरी गइरहेका छन्, ती विषयहरू किन समयमै हुँदैनन् भन्ने प्रश्नको जवाफ जवाफ भने आफू दिने स्थितिमा नभएको उनले बताए । 'किन भएनन् भनेर  हिजोको विषयको जवाफ दिने स्थितिमा म छैन,' उनले भने । आफू त्यहाँ गएर अब के गर्ने भन्ने चाहिँ महत्त्वपूर्ण विषय भएको उनको भनाइ थियो ।

नेपालले न्याय परिषद् सदस्य भएको खण्डमा गुण र दोषको आधारमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने प्रतिबद्धता जनाए । उनले कुनै पूर्वाग्रह नलिई गुण र दोषको आधारमा माननीय न्यायाधीशहरूको नियुक्ति, सरुवा सम्बन्धी कारबाही गर्ने बताए। 

उनले भने, ‘संविधानप्रति पूर्ण जिम्मेवार रही लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति प्रतिबद्ध रहनेछु । स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको सुदृढीकरणमा शत प्रयत्नशील रहनेछु । आफूले सम्पादन गरेको कार्यको उत्तरदायित्व र जबाफदेहिता सदैव ग्रहण गर्नेछु । आस्थाको आधारमा कसैप्रति भेदभाव र असमान व्यवहार गर्नेछैन । संविधानतः समानुपातिक तथा समावेशी प्रतिनिधित्वका लागि प्रयत्नशील रहनेछु । निष्पक्ष र पारदर्शी न्यायालय स्थापनाका लागि निरन्तर प्रयत्नशील रहनेछु । न्यायिक अनुशासन र न्यायालयप्रतिको जनआस्था अभिवृद्धिका लागि प्रयत्नशील रहनेछु ।’

 

प्रतिक्रिया दिनुहोस