काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले धान बालीको प्रवर्द्धन गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको बताएका छन् । २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ का अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ बिजन तथा मलखादको व्यवस्था, प्रविधि विस्तार र किसानलाई प्राविधिक सहायता एवं ज्ञान उपलब्ध गराउने, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन गर्नेजस्ता विषयहरू मन्त्रालयको प्राथमिकतामा रहेका उल्लेख गरेका छन् ।
‘धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ आज देशभरि राष्ट्रिय धान दिवस मनाइँदै छ । मन्त्री अधिकारीले भने, “नेपाली समाजमा परापूर्व कालदेखि नै धानको सांस्कृतिक, आर्थिक र सामाजिक महत्त्व रहँदै आएको छ । वर्तमान परिवेशमा अधिकांश नेपालीको आधारभूत खाद्यान्न धान नै हो र नेपाली समाजमा यसलाई खाद्य सुरक्षाको मानक मानिएको छ । यसै महत्वलाई दृष्टिगत गरी बर्सेनि धान बालीको प्रवर्द्धनात्मक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइरहेका छौँ ।”
उनले धान नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने र कुल ग्राहस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने बाली रहेको जनाउँदै कृषि विकास रणनीति, आवधिक योजना र अन्य नीतिहरूमा पनि धानमा आत्मनिर्भरताका लागि प्राथमिकता दिइएको भने।
विज्ञप्तिमा भनिएको छ “त्यसकै आधारमा मन्त्रालयअन्तर्गतका निकाय तथा आयोजना एवं संघीय सशर्त वित्तीय हस्तान्तरणमार्फत प्रदेश तथा स्थानीय तहहरूबाट धान प्रवर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन भइरहेका छन् । धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ बिजन तथा मलखादको व्यवस्था, प्रविधि विस्तार र किसानलाई प्राविधिक सहायता एवं ज्ञान उपलब्ध गराउने, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन गर्नेजस्ता विषयहरू मन्त्रालयको प्राथमिकतामा रहेका छन् ।”
उत्पादन प्रविधिको विकास र अनुशरण तथा जलवायुमैत्री सिँचाइ प्रविधि विकासमा थुप्रै प्रयासहरू भएका छन् । तथापि बढ्दो जनसङ्ख्या, जलवायु परिवर्तनका असरहरू र खाने बानीमा आएको परिवर्तनका कारण विभिन्न प्रयासका बाबजुद धान तथा चामलको आयात गर्नु परेको छ । संविधानतः कृषि उत्पादन व्यवस्थापनका लागि स्थानीय तह र प्रदेश सरकार बढी जिम्मेवार रहेको सन्दर्भमा खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्रिय लक्ष्य प्राप्तिको दिशामा तीनै तहका सरकारबीचको सहकार्य र समन्वय थप मजबुद हुनुपर्ने आवश्यकता देखिएको मन्त्री अधिकारीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ “जलवायु परिवर्तनको प्रतिकूल असरलाई न्यूनीकरण गर्दै धानको उत्पादन तथा उत्पादकत्वलाई दिगो बनाउन र धान चामलमा आत्मनिर्भरता हाँसिल गर्न आजको दिनले सम्बन्धित सबैमा थप ऊर्जा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु । ‘धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारालाई सार्थक तुल्याउन तीनै तहका सरकारी निकाय, गैरसरकारी संघसंस्था, कृषि प्राविधिक, विकास साझेदार तथा विभिन्न सरोकारवाला निकायहरूलगायत सम्पूर्ण किसान दिदीबहिनी तथा दाजुभाइहरूमा आह्वान गर्दछु । ”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ असार २०८२, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किसानलाई बैंकले सहज रूपमा ऋण प्रवाह गर्नुपर्ने कृषिमन्त्री अधिकारीको जोड
‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ’ : कृषिमन्त्री अधिकारी
कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छ : कृषिमन्त्री अधिकारी
नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी
कृषिमन्त्री अधिकारी कोलम्बो प्रस्थान
कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह