काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेशमै क्रियाशील गराइ आधुनिक कृषि प्रविधिको विकास तथा विस्तार गर्नुपर्ने खाँचो औल्याएका छन् ।
राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न आग्रह गर्दै धान एवं चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय भएको बताए । राष्ट्रपति पौडेलले जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेगरी प्रयासहरूलाई केन्द्रित गर्नुपर्ने खाँचो औँल्याए ।
शुभकामनामा भनिएको छ, “धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गर्दै धान एवं चामलको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”
नेपालमा कृषिको महत्त्व बढाउँदै राष्ट्रिय खाद्य सुरक्षामा धानको भूमिकालाई महत्त्व दिनेगरी धानको उत्पादन वृद्धि गर्न तथा यसलाई आधुनिकीकरण र व्यवसायीकरण गरी किसानको मनोबल वृद्धि गर्ने उद्देश्यले २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरू गरिएको हो । यस वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय धान दिवस, २०८२ मनाइँदै छ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हकको व्यवस्था गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि धानखेतीको प्रवर्द्धन गर्नु आवश्यकता औँल्याए । सन्देश भनिएको छ, “नेपाल कृषिप्रधान देश हो । यहाँका अधिकांश जनताको प्रमुख खाद्यान्न बाली धान हो । त्यसैले धानखेती नेपाली समाज र जीवनसँग अभिन्न भएर रहेको छ । यसले हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवं पर्यटकीय महत्त्व पनि राख्दछ ।” विश्वव्यापी जलवायु परिवर्तनले धानखेतीमा पारेको र पर्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, किसान र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई धानको उत्पादन एवं उत्पादकत्व बढाउँदै धानबालीको विविधिकरण गर्नुपर्ने आजको आवश्यकता भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ असार २०८२, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धान रोपाइँमा सहभागी भए राष्ट्रपति पौडेल
पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष फिनल्याण्डका राजदूत हेइकाको बिदाइ भेट
बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्छ : राष्ट्रपति पौडेल
जातीय विभेद सामाजिक तथा मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति