घनपोखराको प्रकृति र संस्कृति पदयात्रा पर्यटनसँग जोडिँदै

रासस

बुधबार, ११ असार २०८२, १४ : ०३
घनपोखराको प्रकृति र संस्कृति पदयात्रा पर्यटनसँग जोडिँदै

गण्डकी  ।  लमजुङको मर्स्याङ्दी गाउँपालिका–१ स्थित घनपोखराका प्रकृति र संस्कृति सम्पदालाई पदयात्रा पर्यटनसँग जोड्न थालिएको छ । गाउँबाट आँखै अगाडि देखिने लमजुङ हिमालसहित अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बौद्ध, गणेशलगायत हिमशृङ्खलाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने भएकाले यहाँका प्रकृति र संस्कृति सम्पदालाई पदयात्रा पर्यटनसँग जोड्न थालिएको हो ।

लमजुङको सबैभन्दा उचाइमा मानवबस्ती रहेको मानिने यो गाउँ समुद्री सतहबाट दुई हजार १५० मिटर उचाइमा छ भने यो एक हजार वर्षभन्दा पुरानो गुरुङ गाउँका रूपमा परिचित छ ।
    
यहाँबाट देखिने लमजुङसहित अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बौद्ध, गणेशलगायत हिमशृङ्खलाले यस स्थानको महिमा बढाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने घरबास (होमस्टे) सञ्चालक गोमा गुरुङले बताए।
    
उनका अनुसार यो गाउँमा परम्परागत घाँटु, कृष्ण चरित्रलगायत नृत्य संरक्षण गरी राखिएकाले यसको प्रवर्द्धन गर्नुपर्ने जरुरी छ । गाउँमा भित्रिएका पर्यटकलाई इच्छाअनुसार स्थानीय उत्पादित विभिन्न खानाका परिकारहरूको स्वाद चखाउने गरिएको उनले जानकारी दिए ।
    
स्थानीय उत्पादित परिकारहरूको स्वादसँगै यहाँका प्राकृतिक सौन्दर्यताको अवलोकन गर्न स्वदेशी एवं विदेशी पर्यटकहरू आउने गरेका गुरुङको भनाइ छ । ‘गाउँ भित्रिँदा टीका र फूलमालाले स्वागत गर्नुका साथै बेलुका खानपिन र बसाइँको उचित प्रबन्ध गर्ने घनपोखराका स्थानीयले बेलुका घाँटु, कृष्ण चरित्रजस्ता संस्कृति देखाउँछन् भने फर्कँदा पनि त्यही अनुरूप बिदाइ गर्दछन्’, उनले भने।
    
प्राचीन गुरुङ गाउँका रूपमा रहेको घनपोखरामा विसं २०१० देखि विसं २०२२ सम्म घना बस्ती रहेको जिल्ला विकास समिति लमजुङका पूर्वसभापति हेमजङ्ग गुरुङले बताए। पछिल्लो समयमा देशव्यापी देखिएको बसाइँसराइको समस्या यहाँका पनि रहेकाले बस्ती पातलिँदै गएको उनले उल्लेख गरे । 

विसं २०१५ देखि विसं २०२६ सम्म ‘राउन्ड अन्नपूर्ण ट्रेक’अन्तर्गत खुदी बजारबाट घनपोखरा, भुजुङ, ताङतिङ, सिक्लेसलगायत स्थानमा पदयात्री पर्यटक ठूलो सङ्ख्यामा हिँड्ने गरेका अनुभव सुनाउँदै पूर्वसभापति गुरुङले पछिल्लो समयमा जथाभावी बाटो खन्ने क्रमले उक्त पदमार्ग संकटमा परेको जानकारी दिए । 

सुरुमा झण्डै चार सय घरधुरी रहेको घनपोखराको बस्ती विसं २०४२-२०४५ सालतिर घटेको थियो । गाउँमा खनोपानी, सडकलगायत अत्यावश्यक सुविधा पुगिसकेको अवस्थामा पर्यटनको माध्यमबाट यहाँको विकास गर्न सकिने उनको तर्क छ ।
    
घनपोखरा नजिकै पर्यटकीय घलेगाउँ पर्दछ । घलेगाउँमा पर्यटकको आवागमन बढ्दै गएमा त्यहाँबाट घनपोखरा आउने गरेका स्थानीय बताउँछन् । आँखै अगाडि देखिने हिमशृङ्खला, नजिकै रहेका मिदिम र मर्स्याङ्दी खोलासँगै गाउँमाथि मानव बस्ती नभएकाले चराचुरुङ्गीको चिरविराहट पर्यटकको रोजाइमा पर्ने गरेका छ ।

घनपोखराको पर्यटकीय महत्त्वलाई उजागर गर्न गुरुङ सम्पदा पदमार्गअन्तर्गत यसलाई समेट्दै पदयात्रा पर्यटनको गन्तव्य बनाउन खोजिएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले बताए।
    
कास्की र लम्जुङका विभिन्न गाउँ हुँदै लमजुङ र मनाङको सीमा क्षेत्रमा पर्ने दूधपोखरी, मनाङको तिमाङलगायत स्थानलाई जोड्ने गरी विभिन्न विकल्पका साथै १०–१२ दिनसम्मको पदयात्रा गर्न सकिने गुरुङ सम्पदा पदमार्गको तीन चरणसम्म खोज तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिसकेको उनले जानकारी दिए ।
    
सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्ड, मर्स्याङ्दी गाउँपालिका र क्होलासोँथर गाउँपालिकाको आर्थिक सहयोगमा हालै तेस्रो चरणको पदमार्ग खोज तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले बताए।
    
उनका अनुसार सङ्घले यसअघि पहिलो चरणमा कास्कीको ताङतिङ हुँदै मनाङको तिमाङसम्म र दोस्रो चरणमा कास्कीको सिक्लेस हुँदै कपुचे, कोरी, क्होलासोँथर, कर्पु हुँदै याङजाकोटसम्म खोज तथा प्रवर्द्धनात्मक कार्यक्रम गरेको थियो ।
    
सङ्घले सन् २०२६ देखि यस पदमार्गलाई सञ्चालनमा ल्याउने तयारी गरेको उनले बताए। पदमार्ग सञ्चालनसँगै यससँग समेटिएका घनपोखरासहित प्राचीन गुरुङ गाउँहरूको पर्यटकीय महत्त्व उजागर हुने उनले विश्वास व्यक्त गरे।

‘गुरुङ गाउँहरूमा प्रचलित प्राचीन संस्कार तथा संस्कृतिलाई भावी पुस्तामा पुस्तान्तरणसँगै यिनीहरूको पर्यटकीय उपयोग होस् भन्ने उद्देश्यले हामीले उक्त पदमार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने पहल थालेका छौँँ’, उनले भने। 

 

प्रतिक्रिया दिनुहोस