आईएमई ग्रुपले रौतहटमा खोल्यो एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग

सफल खबर संवाददाता

बुधबार, ११ असार २०८२, १३ : ५९
आईएमई ग्रुपले रौतहटमा खोल्यो एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग

काठमाडौँ । आईएमई ग्रुपको मुख्य लगानीमा एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा आएको छ। डेढ अर्ब रुपैयाँ लागतमा रौतहटमा उद्योग खुलेको हो।आईएमई ग्रुपले वित्तीय क्षेत्रबाट आफ्नो व्यवसाय सुरु गरेकोमा पर्यटनसँगै उत्पादनमूलक उद्योगमा समेत धमाधम लगानी गरिरहेको छ।

विशेष गरी वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा संलग्न आईएमई ग्रुपले कागज कारखाना समेत सञ्चालन गरेको छ। नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब बढी लगानी छ। २०८१ फागुनमा कागज उद्योग उद्घाटन गरेको ग्रुपले त्यसको ४ महिनामै अर्को उत्पादनमूलक सिमेन्ट बोर्डको उद्योग खोलेको हो।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ग्रुप अध्यक्ष चन्द्र ढकालले पछिल्ला वर्ष आफ्नो व्यवसायलाई आक्रामक रूपमा विस्तार गरिरहेका छन्। उनले केही साझेदारसहित सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा ल्याएका हुन्।

एभरेस्ट फाइबर सिमेन्ट बोर्डको अध्यक्षमा चन्द्रका छोरा निशान छन्। उद्योगको प्रबन्ध निर्देशकमा प्रदीप पण्डित र कम्पनी निर्देशकमा टासी वाङ्ग्याल लामा छन्। उद्योगका प्रबन्ध निर्देशक पण्डितले परीक्षण उत्पादन सकेर व्यावसायिक उत्पादन सुरु गर्न लागेको बताए।

 

प्रतिक्रिया दिनुहोस