प्रहरी संगठन राजनीतिको प्रत्यक्ष प्रभावभित्र छ : पदम गिरी

सफल खबर संवाददाता

बुधबार, ११ असार २०८२, १३ : ४८
प्रहरी संगठन राजनीतिको प्रत्यक्ष प्रभावभित्र छ : पदम गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले उन्मुक्त वातावरणमा स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्ने कुरामा प्रहरीलाई केन्द्रित गराउन आवश्यक रहेको बताएका छन् । यस्तो वातावरण राजनीतिक तहबाटै दिन नसकिएको उनको भनाइ छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनी भन्छन्, ‘उन्मुक्त वातावरणमा स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्ने कुरामा केन्द्रित भएर लाग्नका निम्ति हामीले राजनीतिक तहबाट जस्तो खालको वातावरण दिनुपर्दथ्यो । त्यो हामीले दिन सकेका छौं भन्ने लाग्दैन ।’प्रहरी राजनीतिको प्रत्यक्ष प्रभावभित्र रहने अवस्थामा रहेको उनको भनाइ छ ।

‘राजनीतिको प्रत्यक्ष प्रभावभित्र प्रहरी संगठन रहने, राजनीतिक दाउपेचको कोपभाजनमा पहिला कोही पर्‍यो भने प्रहरीहरू पर्ने । यसले वास्तवमा अपराध अनुसन्धान गर्नेदेखि लिएर शान्ति सुरक्षा कायम गर्ने कुरामा वाधा उत्पन्न गर्ने गरेका विगतमा अनुभवहरू छन्,’ गिरीले भने ।

अब बन्ने प्रहरी ऐनले जुनसुकै तहबाट बढुवाका लागि नेताहरूको घरदैलो धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनले बताए । अन्यथा, प्रहरी संगठन राजनीतिको प्रभावमा परिरहने उनको भनाइ छ ।

प्रहरीमा दक्ष जनशक्ति, विषयविज्ञ सहितको जनशक्तिको लागि आवश्यक स्रोत र साधनको उपलब्धता हुनुपर्ने पनि उनले बताए । शासन व्यवस्थामा भएको परिवर्तनसँगै प्रहरीले काम गर्ने शैलीमा समेत परिवर्तन हुन आवश्यक रहेको उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस