सरकारकै कारण प्रहरी विधेयक अगाडि बढेन : माओवादी केन्द्र

सफल खबर संवाददाता

बुधबार, ११ असार २०८२, १३ : १७
सरकारकै कारण प्रहरी विधेयक अगाडि बढेन : माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारकै ढिलाइकै कारण सङ्घीय प्रहरी विधेयक अगाडि बढ्न नसकेको आरोप लगाएका छन् । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पाण्डेले गम्भीर भएर लाग्न सरकारसँग आग्रह गरे । 

‘सरकारकै कारण विधेयक छिटो छिटो अगाडि बढेको छैन । यसमा गम्भीर रूपमा लियोस् । विधेयकलाई अगाडि बढाउन समितिको सभापतिको पनि ध्यान गएको देखिएको छैन । त्यसमा म ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने । 

उनले नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको विधेयक पनि सँगसँगै छलफलमा ल्याएको भए झन् राम्रो हुने बताएका थिए । साथै प्रस्तावित विधेयकमा प्रदेश र स्थानीय तहका नगर प्रहरी बललाई समेट्ने गरी विधेयक आउनुपर्ने पाण्डेको धारणा थियो । उनले अहिलेको डिजिटललाइज युगलाई सम्बोधन गर्ने गरी विधेयक ल्याउन सुझाव दिए । 

‘डिजिटलाइज युगमा सम्बोधन गर्ने गरी विधेयक आउनुपर्छ । प्रदेशले प्रहरी विधेयक बनाइसक्यो तर सङ्घमा अहिलेसम्म अगाडि बढ्न सकेको छैन । कार्यतालिकै बनाएर लैजाऔँ’, पाण्डेले भने ।

प्रतिक्रिया दिनुहोस